नयाँ वर्ष / नाज़िक अल मलाइका / सुमन पोखरेल
नआऊ नयाँ वर्ष,
हाम्रा घरमा।
प्रेतको दुनियाँबाट आएका,
मानिसबाट नपत्याइएका घुमन्ते हौँ हामी।
रात सधैँ हामीलाई छाडेर भाग्ने गर्छ,
भाग्यले सखाप पारेको छ हामीलाई।
घुमन्ते आत्माहरूझैँ बाँच्ने गर्छौँ हामी,
कुनै स्मृति बिना,
सपना र इच्छाहरू बिना,
आकाङ्क्षाहरू बिना।
हाम्रा दृष्टिका क्षितिजहरू धमिल्लिएका छन्
जमेको दहको खराने रङ्गजस्तै भएर,
हाम्रा मौन आँखीभौँजस्ता छन् ती,
धड्कनविहीन, उष्णताविहीन
र कविताले नङ्ग्याइएका।
जीवन के हो भन्ने नबुझी बाँच्ने गर्छौँ हामी।
खुरुखुरु जाऊ नयाँ वर्ष,
तिम्रा पाइलालाई हिँड्न सिकाउने बाटाहरू प्रसस्त छन्
हाम्रा त नशाहरू पनि कठोर काँसले बनेका छन्
र हामीलाई दु:खका बारेमा केही थाह छैन।
मरिसकेकाहरूमा गनिन चाहेर पनि
चिहानले नस्वीकारेका जन्तु हौँ हामी।
हामी त्यस वर्षदेखि लेख्न चाहन्छौँ इतिहास
जब हामी
एउटै ठाउँमा बाँधिइरहनु भनेको को हो भन्ने बुझ्न सक्ने हुनेछौँ
जब हिउँले
हाम्रा अनुहारलाई अँध्यारामा बेर्नैका लागि भनेर
ल्याउन थाल्नेछ हिउँदलाई;
जब स्मृति वा आशा वा पछुतोले
हाम्रो देशको बाटो थुन्नेछ;
जब हामी बहुलठ्ठीपनबाट डराउन थाल्नेछौँ;
वा जब
निरन्तरको यात्रा र ठक्कर वा
कुनै असम्भव प्रेमको पीडाका कारण बिथोलिन थाल्नेछ
हाम्रो जीवन।
त्यस बेलादेखि लेख्न थाल्नेछौँ हामी इतिहास
जब हामी
अरू मान्छेहरू कै जसरी मर्न सक्ने हुनेछौँ ।