निस्वार्थी नेपाली / विष्णु न्यौपाने
भावना अति नै उच्च स्वार्थहीन स्वभावछ
सफा छ मनको सिन्धु वीरत्वको रवाफछ
खुल्ला आकाशको नीलो रङ्गझैं मन दर्पण
कसिलो प्रेमको नाता आदर्श ज्ञान होे धन
मित्रमा जिन्दगी साट्छ आफैंलाई गुमाउँछ
मित्रले शत्रुता साटे खुकुरी नै घुमाउँछ
पोखिन्न शत्रुता साँधी सहन्छ जति सक्तछ
हेपेर शत्रुले गाँजे डढेलो बनी जाग्दछ
प्रेमका बीज ऊ छर्छ पोखी सद्भावको जल
पसिना सिँचदै गोड्छ उमारी श्रमको फल
पुकारी ईशको नाम आँखा बन्द गरी गरी
फैलाई शून्यमा हात माग्दैन स्वार्थको मणी
सिर्जना गर्नु मात्रै हो मूल बाटो भविश्यको
बुद्धको देश कुल्चेर बन्दैन अरु देशको
आमा नेपालको यौटै सन्तान योग्य पाउन
त्याग्छ सम्पूर्णता आफ्नो पिंढी दोस्रो बनाउन
आँतको ममता आज खोज्दैछ मिल्न बातमा
नेपाली पनमा क्लिष्ट घुल्दैछ स्वार्थ जातमा
वर्गीय समता बोक्ने क्षमाता हुन्न जातमा
संकिर्ण भावना मात्रै जन्मन्छ जात पातमा