पर्यटक भएर हिड्दा / सविता गौतम दाहाल
मैले छोएको सेतो झरना
किताबमा हेरेको भन्दा धेरै सुन्दर
मनभित्र कतै झर्ने गरको जस्तै
उच्चसमस्थलीको हरियो मैदान
जलासयको शीतल सफा पानी
पहाड र तराइको संगम, त्यो उचाईमा
हृदयले सधैं खोज्ने गरेको जस्तै ।
यात्रु प्रतिक्षालयमा विताएका पल
थुप्रै जीवनका शुरु र अन्त्य वुझेको यात्रा
कति मन छुने
टुक्राटुक्रा बाडिएर
जीवन कुदेका हुन या जिम्मेवारी या लक्ष्य
रेलवे स्टेशन भरी
बहिरहेका ती, मानव नदीजस्तै ।
बुझ्न खोज्नेका हुल
अलग अलग कुदेर अस्तित्व सजाईरहेथे
कहिले गुफा ,कहिले आश्रम
सायद, आफ्नै भागको शान्ति खोजीरहेथे
भ्याईनभ्याई च्यातिइएर दगुरीरहेथे
पहिलो पटक ,ती जीवन्त मानव मेरो मानसपटल
मैदानको ट्रयाकमा जस्तै ।
आफूखुशी गर्दा पीडा कम हुदोरहेछ
च्यातिइदै, कुददै यत्रतत्र छरेर आफूलाई
फैलाईरहेथे
ठाऊँठाऊँ, गाऊगाऊ
प्रत्येक टुक्रा जीवनको
दृष्टिभित्र पर्न वा साँघुरिएर वस्नुको मर्म पो फिजाईरहेथे कि
कुनै कलाकारको नित्य अभ्यास जस्तै ।
पर्यटक भएर हिड्दा
हरेक दोवाटामा पसल देखे
जहाँ जिन्दगीहरु विक्री हुन
आफूखुशी फिजीएका थिए
मोल तोलको विचित्र श्रृंखला
निर्णयका छुट्टै आधार
न्यायका प्रमाण पूरै फरक
कुनै पोख्त निर्देशकको चलचित्र जस्तै ।
सर्वस्य बेचेर जिन्दगी किन्नेहरु देखेपछि
ती वाटाका वजार, ग्राहक र पसले
जीवन वजारको यात्रा
साच्चैं !
वर्षौ कागतमा देखेको संसार भन्दा धेरै कलात्मक
चोखो माया सिंचेर बनाएका फूलवारीजस्तै ।