भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - तृतीय सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
संसारका यौटै राजा छन् भन्ने
हिन्दूको भावना ।
एकै छ ऐन
एकै छ नैन
एकै छ स्वर्ग सबैको चैन
एकै यो शरीर बल्नेछ मैन
भन्नेछ सपना ।
विष्णुको अंश
दुष्टको कंस
मार्नलाई आउँछन्,
उत्रेर यहाँ
भन्ने छ जपना ।
न्यायको मूर्ति
ब्रह्मको कृति
सत्यको जति
भनेर हामी भावना गछौं
सपना जपना ।

(२)
एकै छ नीति
एकै छ थिति
संसारको रीति
न्याय र सत्य धर्ममा अड्छ
विश्वको दरबार ।
चाहन्छौँ हामी
न्यायका नामी
सत्यका स्वामी
राख्नलाई घरबार ।

(३)
धर्मको हामी चाहन्छौँ कल्झल्
नबिरिने तरबार ।
धर्ममा हामी चाहन्छौँ सुन्दर
दया र दानको सार ।
ताराका चन्द्र
द्यौताका इन्द्र
भक्तिका केन्द्र
क्षत्रिय वीरमा गौरव राख्ने
ईश्वरको अवतार।

(४)
विश्वको थिति देखेर हाम्रा
ऋषिले राम्रा
विचारले बनाए ।
यो थिति रीति सनातन गीति ।
प्रजा हुन् छोरा
राजा हुन् बाबु
प्रीतिको आडमा रहेका प्रजा
विषयलाई कर्मको बलले
सच्चाको दिलले
सबैको भलाइ निम्तिमा ज्यान
दिएर सब जिती।
शास्त्रका पाका
महका चाका
मौरीझैँ रैती फूल फूलमा उड्ने
जो मधु बटुल्न ।
प्रकृतिबाट टिपेर सार
दिशामा फिँजी कर्ममा चार
इनाम लिन कुसुमका सार
गुणको पारख गरेर लगी
घरमा सँगाल्न।

(५)
यो थितिरीति
सनातन गीति
जो अड्छ लिई तत्त्वमा प्रीति
ब्रह्माले वेदमा बताउनुभयो
समाज समाल्न ।
यै रीतिथिति सक्दछ हिन्दू
हृदय पगाल्न ।

(६)
राजा हुन् खालि
गोठाला जस्ता
प्रजाका निम्तिमा ।
दिन र दिन र प्रतिक्षण
भलाइको निम्ति होशमा बस्ने
पाइला गिन्तीमा
हृदयबाट सुनेर हेर्ने प्रजाका बिन्तीमा।
नीतिको काँट
धनको बाँट
समाजको छाँट मिलाई राज्ने प्रजाको प्रेमको
सुनको गादीमा।

(७)
आफूलाई भुली
प्रजामा मिली
पुयाउने चूली
स्वार्थले रहित धनका बीचमा
सुनझैँ चाँदीमा ।
सत्कर्म यशका पखेटा लगाई
जो उड्छन् स्वर्गमा ।
न्याय नै राख्ने तराजु तौली
प्रजाका वर्गमा ।

(८)
मिलाई काँट
मिलाई ठाँट
ताराझैँ चमचम पारेर ज्योति
आत्माको निकाली,
प्रजालाई बाली सत्कर्म पथी
लहरे स्वर्गमा ।

(९)
न्यायका सुन्दर चालमा चल्ने
र कल्पनाहरू फुलेझै फुल्ने
प्रजाका लागिमा ।
सपथ तेजी ज्योतिले बल्ने
नीतिका काँटमा सब अराउ चल्ने
दुष्टको दिल देख्दैमा जल्ने
स्वर्गका चीज वचनमा फल्ने
प्रजाका मागमा ।

(१०)
न धेरै दुर्बल दयाले खालि
न धेरै नीति बाङ्गोमा जाली
सत्यको चतुर कलाको चाल
दुष्टको जाल
जस्तो है पारी प्रतिभाबाट
सहज निकाली।
साराका दिलको केन्द्रको कमल
प्रकृत बास्ना मधुर लिने
सबैको जीवन प्रीतिले छुने
अनेकभित्र यौटाझै हुने
सबलाई उचाली।

(११)
विद्याको प्रेमी, साधुको दाता
प्रजाको सधैं पिता र माता
रामराज गरेर ।
पृथिवीलाई उज्यालो पारी
न बल धन दिएर भारी
नमर्ने मरेर ।
आखिर बस्ने युग र युगलाई
प्रजाको दिलको सिंहासनभित्र
ज्योतिले भरेर ।
 
(१२)
बोलाउँछौँ हामी सद्धर्म थामी
रामराजा जगत्मा।
हे प्रभु हर !
लौ अब तर
ज्योतिले भर
सब हाम्रो घर
दयाले भगत्मा ।
अँधेरी हर
सद्धर्म भर
न्यायको राज्य प्रीतिले भर
आदर्श कर्महरूले भरी
जीवन जगत्मा।

(१३)
हनुमान् रौझैँ राम राममा रहूँ
भक्तिले चाली गिर्खा र दाना
स्पन्दने रगतमा ।
यै हाम्रो आवाज उठ्दो छ सधैं
स्वर्गको समीपमा ।
आशाको ज्वाला बलेको जीवन
नामको प्रदीपमा ।

(१४)
धर्मका जाति
आर्यका ताँती
संसारका मुहार हेरेर भन्छौँ
विष्णु नै राजा छन् ।
राजा त आए
राजा त गए
राजाका अमर विष्णुका अंश
सधैंका ताजा छन् ।

(१५)
सधैंको बैंस
सधैंको ऐश
विश्वका श्री नै उनका निम्ति
स्वर्ग र पृथ्वी दुवैमा हेर
जीवनको साजा छन् ।

(१६)
तारा ती उनका
स्वर्गका धनका
हीरा र मोती लहरे फन्का
मेघका बाजा छन् ।
 
(१७)
हामीलाई थोरै चाहना हिन्दू
दिनको घाम, रातको इन्दु
भोकलाई खाजा एक मुट्ठी दाना
दिनलाई उनै न्यायका सिन्धु
जीवनलाई हाम्रा प्रेमका बन्धु
एक धरो धोती भक्तिको भोगी
दुई आँखा दानामा ।

(१८)
ऋषिको रीति
सनातन थिति
धर्मको गीति
शुद्धमा चोखो दाना र पानी
सालका पातमा।

(१९)
पानी हो हाम्रो हिन्दूको माग
चाहन्छौं खालि दयाको भाग
सत्य र न्याय रहेको देशमा
बाहुन र गाईलाई नदुःख दिने
नराख्ने भेद भाइ र भाइमा
ठूला र सानामा ।

(२०)
नैसर्गिक बुद्धि
ऋषिको शुद्धि
पाउनेले यै देखे ।
विश्वको थिति-नीतिका रेखा
पाएर यो लेखे ।
प्रकृत समाज प्रकृत शासन
ऋषिले यो देखे ।
प्रथम तत्त्वहरूमा अड्ने
एकमा अनेके ।

(२१)
यो शासन चल्छ है त्यहाँसम्म
जहाँतक न्याय छ।
जहाँतक सच्चा दिलको राजा
प्रजाहित प्राय छ । ज
हाँतक सत्य मिचेर मार्ने
उपाय हुँदैन ।
जहाँतक चौडा जवाफदेही
शुन्यले लिँदैन ।
मानिसको आत्मा मार्नलाई खोज्ने
भावले छुदैन ।
विश्वमा नीति-न्याय छ असीम
भनेर त्रास नराख्ने आत्मा
संसारमा हुँदैन ।
जबतक आफै स्वर्गको राजा
राजाले भनेर ।
सत्यको चौडा जगतै छाडी
बढाउँदैन अन्याय बाढी
हृदय छिनेर ।

(२२)
हामी ता देख्छौँ राज्यको विस्तार
चौडाइमा सत्यको ।
जतिको विश्व छ अन्तर्गत
तत्त्वमा नित्यको ।
जतिको प्राणी प्रेम र हित
शासनमा अन्तर्गत ।
त्यत्तिकै हुन्छ जीवनको दावा
जातिको जगमा सत् ।

(२३)
धर्मको नाममा समर्थन नाशको
समर हुन् हाम्रा धर्मका आशको
सत्यका दावामा ।
जीवन उठ्छ नश्वर छाडी
सत्यको कामले ईश्वरको नामले
धर्मका धावामा ।
आँधी छन् सारा सुन्दरको तौल
मिलाउने हावामा ।
भूकम्प पनि मिलाउँछ तह
सत्यको दावामा।

(२४)
सत्यको काँट जीवनमा राख्ने
जाति छ जिउने ।
धर्मको वैरी लाग्दछ वैरी
ओरालो नहुने ।
 
(२५) सत्यमा अड्ने धर्मले लग्छन्
हिमालका सुनचूली ।
न्याय र नीतिविनाका जाति
हुनेछ आखिर अँधेरी राति
निस्सार औ धूली ।
 
(२६)
तर त्यो काँट राख्नमा जान्ने
राजा छन् थोरै नै ।
धर्मको नाममा उठेको देख्छौँ
असत्को सोरै नै ।
ईश्वरको कृपा पाएका जाति
पाउँछन् राजा धर्मका जाति
नत्र छ मेरै नै ।
विश्वको गोलगोल
सत्यको मोलतोल
पाएका जाति फैलेर उठ्छन्
भएर शेरै नै ।

(२७)
यो थितिरीति सनातन नीति
जान्नेमा अकेला ।
पृथिवीराज चौहान थिए
भारतको त्यस वेला।

(२८)
जब ती अरू राजाका नामका
राहु कामका ।
मेरै नै भन्ने मपाईंभित्र
इन्द्रिय कमारा ।
बटुली बस्थे फूटाको धन,
देखावट कीर्ति
मिथ्याको फूर्ति
अँधेरी बत्ती बालेर कालो
पुग्नलाई गगन ।
 
(२९)
यो तत्त्व दिव्य बुझने ती यौटा
भारतका थिए जन्मेका द्यौता
तर हा ! उनलाई मानेर सौता
फूटाले गर्थे डाहाड, रीस
पाएर दहन ।
जयचन्द राजा दुष्टका दिलले ।
सकेन सहन ।

(३०)
भो: तिनलाई धेरैले भन्छन्
ज्यादै नै नभन ।
ती थिए खालि मायाका चाली
असत्लाई सत्य मान्ने है जाली
अज्ञानभित्र अहंमान राख्ने
मूर्खका भवन ।

(३१)
यो कथा हाम्रो
भारतको राम्रो
ईर्ष्या र द्वेष छाडेर सारा
आँशुको नजर लिएर प्यारा !
तौलेर सत्य नित्यको चारा
लिनु है पोषण ।

(३२)
अरू हुन् खालि
मूर्खका माली
पृथिवीराज अवतार थिए
हिन्दूका भूषण ।
इतिहासबाट
सत्यको थुन
दुहुनी कन
दुहुँदा हामी चौडा हुँ प्यारा !
नराखी दूषण ।