भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - पञ्चम सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
पछिको बान्की रूखले लिन्छ
सानैमा छाँटमा ।
जस्तो छ बीज उस्तै छ रूख
फल र फूल गन्ध र मुख
मानिस बढ्छ पराक्रमवाला
कलिलै भित्र देखाई चाला
वीरले ठाँटमा ।
दिनको प्रधान लक्षण खुल्छ
बिहानको छाँटमा ।
सानै नै देखिन् हुन्छ है शेर
पछिको महापुरुष वीर
गुणका काँटमा ।
पहिलेदेखिन् बाघका बच्चा
हात्तीका आँटमा ।
बालकैदेखिन् पृथिवीराज
साहै नै राम्रा साहै नै मीठा
बोलिका ढीटा, आँखाका छीटा
नीतिका काँटमा ।
पछिको बान्की रूखले लिन्छ ।
सानैमा छाँटमा ।
कलिलै हुँदा देखाउँछ चाला
वीरले ठाँटमा ।
धाईले उनलाई सुनाउँथिन् कथा
अघिका वीरको ।
भारतलाई उद्धार गर्ने
दशामा पीरको ।
कसरी काली नाचेर उड्थिन्
झलझले तरबार ली,
आँखामा ज्वाला
लगाई माला
म्लेच्छका शिरको ।
कसरी उनको त्यो लाल जिभ्रो
रगतको खोलामा ।
पिएर पानी दुश्मन हानी
वीरको चोलामा ।
भर्दथ्यो जोश
भर्दथ्यो यश
कष्टको बेलामा ।
कसरी उनका पुरुखाहरू
आगोझैँ बलेर ।
भारतका लागि स्वर्गमा गए
दुश्मन दलेर ।
कसरी ब्राह्मण गाईको रक्षा
बाहुका बलले ।
गर्दथे तिनी आर्यका आत्मा
अन्न र जलले ।
कसरी उल्टो लागेर दुश्मन
मर्दथ्यो छलले ।

(३)
कातरको नाममा यौटा नै थियो
कन्नौजको अभागी ।
त्यो राज्यपाल नामको राजा
घरको सिंह, वनको स्याल
लूसे र मूसे स्यालसिङको दाँजा
भारतको सब दागी ।
महम्मद नामको गज्नीको राजा
आउँदा लिई म्लेच्छको फौज
धसिङ्गर सुँघे डरलाग्दा सारा
थरथर पारी दरबारका तारा
अजमेर चढायो ।
रजपूतको श्रीपेच पामर वीरले
म्लेच्छको पाउ छोएर शिरले
महँला भन्ने काँतरको पीरले
धूलीमा गढायो ।
चन्डेलका राजा गन्डमा रीसले
आगो नै जलायो ।
कसरी अनि रजपूत मारी
गन्डाका पुत्र विद्याधरनामा
वीरको महान् नायकतामा
कछुवा राजा ग्वालियर साथमा
रजपूत इज्जत राख्नको लडाई
रीसमा पलायो ।
ग्वालियर राज अर्जुनले अनि
कसरी त्यसको शिर नै छिनी
कातरपन हरायो !

(४)
यस्तै यी कथा वीरका ज्यथा
पुराना कालका
वीरका चालका
धाईले सुनाउँथिन् ।
अनि ती साना सिंहका बच्चा
भारतका पुत्रहरूमा सच्चा
काखमा खेलाउँथिन् ।
वीरका बच्चा रउँ र रौंमा
बजेर सुन्दथे ।
आफ्नो त्यो कुलको पराक्रम फूलको
सुवास सुँघ्दथे ।
अनि ती मनमा सपना उब्जाई
भारत उद्धार प्रताप सधैं
फिजाउन गुन्दथे ।

(५)
उनीलाई थियो सधैंको खोजी
बालककालमा ।
वीरको कथा, भारतको ज्यथा
अमरका चालमा ।
आँखामा बल्थे अनौठा ज्वाला
छन्दका तालमा ।
जब ली वीणा कविले गाउँथे
आँखामा आँशु, छातीमा धड्का
वियोगमा मधुर ।
प्रतापमा प्रखर
सुन्दरमा कोमल
मिलाई सब स्वर ।
नशामा बज्ने प्रकृत ध्वनि
बजाउने तारमा ।
त्यो अनुवादन लिएका आत्मा
कविका पारमा ।
भविष्यलाई सपना बुन्थे
सुनेका सारमा ।

(६)
बीचबीचमा उनी कविका ध्वनि
घुसेर दिलमा ।
मधुर छन्द बनाउँथे पनि
एकान्त थलमा ।
चौहान वंश शारदा अंश
पाएर जन्मेथ्यो ।
कविको दिल वीरको बल
कीर्तिको प्यास स्वर्गको आश
पाएर जन्मेथ्यो ।
ती मधुर नशा यिनमा चढ्थे
सुन्दरका छन्दमा ।
सपना जस्ता कविता चढ्ने
नलेख्ने बन्दमा ।
कहिलेकहीँ फुर्सदमा भर्थे
सपना छन्दमा ।
चौहान वीरको प्रतिभा धीरको
समर छाडी शान्तिमा पनि
अम्लान गन्धमा ।

(७)
सानैमा उनी शिकार खेल्थे
शरका चतुर ।
बाघका बच्चा, उमेरमा कच्चा
एक्लै नै पनि शिकारमा सच्चा
एकदम रहर ।
गजबले तान्थे नबिराई हान्थे
वीरका धनुष ।
सबैले भन्थे यी पछि हुन्छन् ।
गजबका पुरुष ।

(८)
विद्यामा पनि चाँडै नै धनी
बनेर बढेर ।
खुशाउँथे यिनी राजालाई पनि
कविता पढेर ।
स्वरका मीठा चालका छीटा।
बुद्धिका ढिटा
पढ्दथे गढेर ।
शिखरमा पुग्ने आशाले सधैं
पहाड चढेर।

(९)
त्यो वेला थियो वीरको तालीम
बहुतै विचित्र ।
विद्वान्का सँगमा राख्दथे बालक
भावलाई पवित्र ।
सुनाउँथे कथा पुर्खौली कथा
वीरका चरित्र।
लड्न र भिड्न सानै नै देखि
परीक्षा गरेर ।
शिशुको तालीम विचित्र हुन्थ्यो
जोशले भरेर ।

(१०)
धनु र काँढमा यी पहिला थिए
गुरुका तालीममा ।
दाउ र पेच अनेक जान्ने
लगाउन जालीममा ।
गदाको युद्ध, चक्रको युद्ध
सबैमा सिपालु ।
त्यसउपर यिनी थिएनन् कहिले
स्वभावका ढिपालु ।
ब्राह्मण साधुहरूमा थिए
सधैंका दयालु ।
 
(११)
परीक्षाक्षेत्र अनेकमा यिनको
कदर ठूलो भो ।
एकसे एक वीरको पनि
सेखी नै धूलो भो ।
जब यी जवान भएर बढे ।
कसैले जितेन ।
एक न एक चमत्कार नभै
दिन नै बितेन ।
 
(१२)
आँखाका ठूला, भावका विपुल
व्यूढ छन् उरका ।
सुन्दरमा सारा मिलेको डाल
छैनन् है कुनै उनका दाँजा
अजमेर पुरका ।
मोहोडा थियो पुष्ट र चौडा
देख्दैमा वीरको ।
बनोट उनको गठिलो थियो
बुद्धिका शिरको ।
नाकको बान्की फुकेको तल
जंघा नै भयङ्कर,
चिउँडो चौडा, खाने मुख सानो
तर छ मिलेको ।
चन्दनका रेखा भालमा तीन
अत्यन्त खुलेको ।
शिरपोस केही ढल्काई लाउँथे
निधार ऊँचामा ।
त्यो वीर बान्की, त्यो उनको मुहार
आउन्न हरे ! हामी साना
कविका कुचामा ।

(१३)
अग्ला र गोरा वीरका छोरा
कदका गठिला ।
न धेरै बोल्ने, न धेरै चल्ने
सत्यका हठिला ।
उनलाई देख्दै दुष्टको मन
पापले काँप्दछ ।
मनुष्यलाई देख्दैमा उनको
बुद्धिले नाप्दछ ।

(१४)
हातमा धनु पीठमा ठोक्रो
पार्श्वमा तरबार ।
माछाको आँखा प्वाल पार्ने वीर
भन्दथ्यो दरबार।

(१५)
अनङ्गपाल राजाले उनलाई
दरबारमा बोलाउँथे ।
यो मेरो नाति क्या राम्रो जाती
भनेर बोलाउँथे।

(१६)
बिहाको कुरा अनेक चल्यो
देखेर वीरता ।
म्लेच्छको राज्य निभाउने काम
कामिमी काञ्चन ह्वैन है धाम
मेरो त वीर राजपूत नाम
भनेर हाँसी हँस्सीमा सारा
उडाउँथे धीरता ।
उनको यश फैलेर गयो
भारत भूमिमा ।
गुणका मन्दिर, वीरका सुन्दर
पृथ्वीका इन्दर-
सरि छन् भन्ने सुवास फैल्यो
स्वर्गका भूमिमा ।
त्यस्ता पो वीर
त्यस्ता पो धीर
भन्दथे सबै चरित्र-चित्री
हृदय भूमिमा ।
अरूको कीर्ति वैलिँदै गयो
प्रात:का सूर्य अघिका चन्द्र
सरिका भए अरूका इन्द्र
भारत भूमिमा ।