भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - षष्ठम सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
कोही छन् यहाँ प्रकृत वीर
ईश्वरले चुनेका। .
कोही छन् खालि गर्वका धुरी
मपाईका दर्शन, घमण्ड पुरी
देखाउन खोज्ने चुरी र फुरी
कीर्तिले बुनेका।

(२)
ती भन्छन् खप्ने यशको बाली
घरैमा फल्दछ ।
छिमेकी धुरी भन्दा भै उँचा
धुरीमा फुल्दछ ।
देखाउनुभन्दा संसारमा आर्को
क्यै छैन तिनलाई।
निष्काम कर्म सत्यको मर्म
वीरको धर्म गर्वको शर्म
नबुझने यिनलाई ।
आफ्नै यी संसार सुनको दरबार
आफ्नै हो सारा नाशको तरबार
आफै हुँ ईश्वर आफै हुँ संसार
भनेर भुलाई ।
मायाले गर्छ अनौठा टूना
मूर्खता बनाई झन् कस्तो दूना
छक लाग्छ मलाई ।

(३)
अहङ्कार जस्तो क्यै खराब छैन
संसार जित्नु गर्वमा छैन
वीरता हुन्छन् सत्यमा मैन
ईश्वरका नियममा ।
लडाइँ होइन सत्यको बाटो
सत्यको आह्वान पाएर लड्नु
जीवन-मरणमा ।
कीर्तिका कुसुम फुल्दछन् खालि
धर्मका शरणमा ।

(४)
अनन्त ऐन खोलेर नैन
हेर्नेले देख्यो अरूले ह्वैन
यशको गजूर सत्यमा उठ्ने
ईश्वरको चरणमा ।
कीर्तिको प्यास प्रसिद्धि आश
रगत पोख्दछन् ।
देवले पछि सत्यको काँटमा
कर्म ती जोख्दछन् ।
धूलो र मैलो बनेछ वीर
अहङ्कार उज्यालो ।
कीर्तिको पथ जान है सब
चढेको उकालो ।
सत्यको भावमा वीरको मुटु
बाल्दछ दियालो ।
अँधेरा तर अज्ञानका आँखा
यी तत्त्व देख्दैनन् ।
हृदयभित्र सत्यका अक्षर
भावमा लेख्दैनन् ।
त्यसैको काँट त्यसैको छाँट
त्यसैको मपाईंको परिपाठ
गरेर बस्दछन् ।
अँधेरी कीर्ति मिथ्याको फूर्ति
बढाई सारा मुटुमा धर्ती
विषले डस्दछन् ।

(६)
मूर्खमा गजूर आफैंका हजुर
रङ्गीन पल फिँजाउने मुजुर
रक्तका वर्षामा ।
छन् सारा हाम्रा विजय चन्द्र
विश्वास जसको बस्दछ खालि
भाला र बर्खामा ।
पुरुषा नामले मपाईंको पोषण
गर्नको ईर्ष्यामा ।
पहाडभन्दा घमण्डी थिए
रजपूतभरका मखण्डी थिए
एकलो अहम्मा ।
हठका राजा यशका गाँजा |
पिएका गरममा ।
अरूलाई उनी मान्दैनन् पनि
नगन्ने थिए गुणका धनी
फुसाका गणनमा ।
मै विष्णु भन्ने अहंमान थियो
उनको मनमा ।
सुन्दथे आफ्नै कीर्तिका गाना
दशाका दिनमा।
फुस्लाउनेलाई सुनका थैला
उदार दिनमा ।
सच्चाको मुखलाई फॅक्दथे मैला
रीसको क्षणमा ।

(८)
यशको लालस लाल भई उठ्दा
हृदय मर्दछ ।
भाइको फूट, कीर्तिको टूट
सब छूट गर्दछ ।
मदिरा जस्तो कीर्तिको प्यास
गरमले चढ्दछ ।
साना र तिना कुरामा पनि
रीस ईर्ष्या बढ्दछ ।
दिन र दिन अधम बनी
झन् तल गड्दछ ।

(९)
मूर्खलाई हामी आँशुले हेछौँ
अज्ञानमा फुलेको ।
मिथ्याको शरण प्रसिद्धि लोभले
नाशमा चलेको ।
हामीलाई लाग्छ अनन्त माया
मायाको पर्दा राजामा छाया
बरा ! ती जयचन्द ।
असल थियो कीर्तिको प्यास
सत्यमा लागे भारतका आँशु
वीरको जो हो हृदयवास
तर यी थिए मन्द ।
बुद्धिका मोटा, कर्मका खोटा
सङ्कुचित मति हठमा छोटा
यी राजा जयचन्द ।
उनलाई थियो देखाउनु खालि
पिट्नु नै आफ्नो तुरही झयाली
भाइमा भाव राखेर जाली
फटाको मीठो छन्द ।
दिएनन् बरा ! ईश्वरले तर
भारतलाई उज्याल्ने वर
माटाको बिर्को लागेर तर
बुद्धि नै भयो बन्द ।

(१०)
दिन दिन यिनी साङ्ग्राका मणि
बन्नको इच्छा भै अधिपति
ईर्ष्या नै सँगाल्थे ।
साना र तिना कुरामा पनि
रीस नै निकाल्थे।

(११)
अरूको देखासिकीमा यिनी
भारतका अधिराज ।
बन्न नै खोज्थे दिन र रात
सब राजाहरू माझ ।
शिँगारूँ भन्ने यिनमा थियो
कन्नौज कुलको ताज ।
मूर्खका तर यी शिरोमणि
मिथ्याको सज्थे साज ।
म्लेच्छको अघि देखाउने बल
देखाई भाइको माझ ।

(१२)
पृथिवीराजको देखेर फूर्ति
बयान हुँदो वीरको मूर्ति
कलेजा जलेर ।
त्यसलाई यौटा दबाउन पाए
अरू त मेरा पयर भै आए
भन्दथे यिनी आर्यको प्रेम
आर्यले भुलेर ।
बस्दथे सधैं यिनका निन्दा
गर्नेसाथ फुलेर ।

(१३)
आश्वमेध गर्ने इच्छा छ यिनको
भारतको यस्तो दशाका दिनको
अरूलाई पयरमा ।
राखेर आफ्ना रजौटा राजा
शानमा ठूलो भएर ताजा
कन्नौज शहरमा ।

(१४)
बलियालाई बलको शराब
निर्धालाई कमजोरी
ईश्वर दया नभई कहाँ
आउँछ बुद्धि तेजीलाई पनि
सत्य-रस निचोरी।।

(१५)
कन्नौजमा गर्थे यी जयचन्द
शानको शासन ।
बारौटा राजा इच्छा छ उनको
देखाउन सारा आँखामा जनको
पयरका आसन ।

(१६)
अरूले टेरे अरूले हेरे
उनका इच्छामा ।
तर ती सिंह पृथिवीराज
देवका कक्षामा ।
नटेरी बस्थे नहेरी बस्थे
उनका शिक्षामा ।

(१७)
झन् वैर बढयो झन् टाढा भए
काक र हंस यी ।
भारतको भलाइ लागिमा थिए
चौहानवंश ती ।
शासनको राज्य गर्नलाई खोज्ने
प्रतापको बाटो मिथ्याको रोज्ने
जयचन्द राजा आफूलाई देख्थे
विष्णुका अंश ती।

(१८)
झन् वैर बढ्यो झन् गरम चढयो
झन् ईर्ष्या गढ्यो, झन् दिल सड्यो
जयचन्द राजामा ।
आखिर दुई दुश्मन भई
पृथिवीराजको निन्दामा सही
सभाका माझमा ।
गर्ने ती भए यशका प्यासा
"सधैंको काजमा ।
हामी ता छैनौँ पृथ्वीराज जस्ता
घमण्डी फुफुर ।"
भनेर छेड अनेक गर्थे
निन्दाले हुर्हुरे ।
खराब भावका शिशुमैं उनका
उरमा छुर्छुरे ।

(१९)
पृथिवीराज हाँसेर हिँड्थे
बुझेर अँधरा ।
उनका वचन शरझैँ बिझी
हितका वचन नबुझी बिझी
रीस र ईर्ष्या पोख्दथे सधैं
मूर्ख ती बिचरा ।
जयको चन्द्र हुनको इच्छा
नभई उज्यालो ।
शिखरमा पुग्न सत्यको खोज्थे
नचढी उकालो ।