प्रजातन्त्रको प्रमिथस हो- ऊ / कलानिधि दाहाल
पूर्वी दिशाको प्रणयपताका
बोकी, फैली फरफर फर्फर !
हृयूँचुली पग्ली र्झन सिपालु
चेतनाताका झरना झर्झर !
पश्चिम उड्ने प्वाँख सजाई
नाग्बेलीका घुम्तीहरूमा !
सजल सजेको मानवताको
बत्ती बलेको एक कलामा !
कल्पतरुझैँ कलरवधुनमा
कल्पनाका चञ्चु उघारी !
फैली शाखा शाश्वत युगका
भाका खोल्ने जलको झारी !
पोथ्रा सिञ्ची वागहरूमा
फक्री गुलाफी पत्र हजार !
प्रजातन्त्रको बत्ती बलेको
हेर्न उजेलो सब संसार
आर्तहरूका आँचल पक्री
मलम लगाई हिँड्न तयार !
कलियुगको ऊ मानव बत्ती
नवभाकाको उच्च निधार !
टललल टल्क्यो झलल झल्क्यो
उद्बोधनको विद्युत् तार !
तरङ्गहरूमा तैरीतैरी
भवको खिच्दै भावुक सार !
सललल सङ्लो दिलको खोली
तनको छोप्यो तातो धार !
चेतनाताका ज्वार उफारी
सागर छल्क्यो छलछलछल् !
बालु किनारा भित्र उमार्यो
अक्षरहरूका बिरुवा कोमल !
बिरुवावयमा कतिकति फक्रे
रागसुवासी सुन्दर सार !
यमुना किनारा टुकुटुकु दौड्यो
प्रणयलताका पक्री धार !
शाहजाहँको सुन्दर खोपी
ज्वरशमनाको खोली द्वार !
यसजगमा ऊ तप्क्यो तपतप
शीत सजाई, बाजु बजाई !
गौरवगहमा लाई धाप
ताप बलेको अनलाग्निमा !
हिमचुलीको ऊ एक धरोहर
तपतप पग्ली थपथप अग्ली !
गगन छोई चुक्छ सरोहर
पग्ली पुग्दछ झोपडी चुम्न !
फैली सवेरै झिल्का छर्न
प्रमिथसको ऊ दिव्य मुटु हो !
एक्लै हिँड्दछ पीडा हर्न
अक्षर वनका कल्पतरुमा !
मानवताका शाखालाई
दिव्य दयाका लहर लताका !
धर्तीबाटै क्षितिज सजाई
किरणप्रभाका साथ ऊ ओर्ली !
तिरमिर तारा फैलिरहेछ
फैलिफैली जनका मनमा !
हिमचुलीजस्तै अग्ली रहेछ
अग्लीअग्ली भरना बन्दै !
इन्द्रेनीमा पग्लीरहेछ
प्रजातन्त्रको प्रमिथस हो ऊ !
अमरपताका फैलिरहेछ
भावहरूका दिलदिल भाका !
सिमसिम झरीझैँ तैरिरहेछ !