भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फलामको मुटु / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पार्कको
यो त्यही बेञ्च हो
जहाँ बसेर सँगै देखेका थियौँ हामीले
— तिमीले एउटा सपना
— मैले एउटा सपना

आश्चर्य त यो थियो !
ती सपनाहरु थिए हुबहु एउटै रङका

यतिका बर्षहरुपछि
फर्र्किएर हेर्छु आफैलाई,
तिमीलाई,
बेञ्चलाई पनि !

यो बेञ्चले पनि सहेकै हो उमेरका थप्पडहरु
झरी, घाम र सुख्खापनले हानेकै हो यसलाई पनि लात र घुस्साहरु
तातो र चिसोले चिथोरेकै हो यसको मुहारलाई
रात र दिनले गरेकै हो ताण्डव नृत्य यसको शरिरमा पनि

अहिले
तिमी अरु नै कतै
म यहाँ अर्कै भूगोलमा

अहिले पनि
देखिरहेछौँ हामी सपना
— तिमीले एउटा
— मैले एउटा

आश्चर्य त यो छ
यी सपनाहरु
कहीँ कतैबाट पनि देखिन्नन् उही स्वरुपका

पार्कको यो बेञ्च
उहिल्यैदेखि तर
किन देखिरहेछ उही उस्तै सपना ?

खियाले अलिअलि खाएपनि
किन छ
उस्तै अनुहार यसको
स्वरुप उस्तै
र उस्तै प्रकृति ?

किन बदनाम छ तर यो
लिएको छ भनेर
फलामको शरिर
फलामकै अनुहार
र फलामकै मुटु ?