भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फुर्सदमा बुढो मान्छे / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बैंसमै पात झरिसकेको
खङ्ग्रङ्ग कुनै नांगो वृक्षमुन्तिर
पढिरहेछ
एउटा बुढो मान्छे
भीषण दुःखको मर्मान्त काव्य

र सच्याउन नसकिने विगतको बहिखाताभित्र
लगाइरहेछ – रातो चिह्न
गन्दै जिन्दगी नामका हिसाबहरू,

दिनहरूको मृत शरीर
कुल्चँदै हिँडेको पनि धेरै वर्ष भयो,
महिनाहरूको दाउरा बालेर
न्यानो खोजेको पनि एउटा जुग नै भयो
कति छ हिँड्नुपर्ने एकान्त बाटो अझै
आँखामा भने डुबिसकेको छ सिंगो दिन

बाँकी यात्रा हिँडिदिनेहरू खोजेर
 प्रत्यारोपण गर्न खोजिरहेको छ चिचिला आकांक्षाहरू ऊ
कलिला अनुहारहरूमा
र चर्चरी फुकेको सुख्खा खेतको गरा निधारमा
सुम्सुम्याउँदैछ – थपिँदै गएका
ज्यामितीय रेखांकनका त्रिकोणात्मक बुढ्यौलीहरू

उफ ! कसरी हिँडियो होला
त्यो ठाडो उकाली  ?
कसरी तरेँ हुँला ती जंघारहरू,
र नाघेँ हुँला ढुंग्यानहरू
आँखालाई अर्घ बनाएर कसरी चढाएँ हुँला
स्नेहजल– आफन्त सम्झेर
टाढाको सूर्यजस्ता निर्दयी मान्छेहरूलाई,

बिसौनीबाट हेरेर
अनागत घुम्तीहरूको नदी,
कहिले स्मृतिका व्यस्त दोभानमा
खियाइरहन्छ ऊ समय–डुंगा – तर्कनाका
लहर–लहरहरूमा,

बिर्सिएको इतिहासजस्तो बुढो मान्छे
सुनाउँछ कथाहरू
बटुलेर स–साना नानीहरूलाई वरिपरि

र साँझ–बिहान
क्षणप्रतिक्षण
आफैं एउटा कथा बन्दै जान्छ ।