बगर र सपनाहरु / विमला तुम्खेवा
काठमाडौंको कुनै बेनाम कोठा
साधारण खाट
मसँग सपनाको मृत्युमा सरिक हुने यही खाट छ
आज —
म जीवनको एक दिन
आफ्नै सपनाहरुको मृत्युमा सरिक भएँ
आज पनि —
पिपलबोट, हनुमानढोका र पशुपतिको मृत्यु बगरहरुमा
टोलाउनुमा बित्ने छ
संवेदना सकिएको मन .......
चिसो पर्खाल / तिमी नहुनुको पीडा
र —
अनागरिक मान्छे बाँच्नु
म,
मान्छे भएर जन्मनुको सत्यतासँग मात्र पनि
किन आन्दोलित हुन्छु ?
तिमीले मेरो निम्ति बिताएका पागल दिनहरु
पराकाष्ठामा पुगेर .....
पुनः तिमीलाई सम्झनु
फेरि पनि सपनाको मृत्यु हुनेछ
के थाहा ?
अपरिचित हावाको एकपल पनि
सुखको अन्तिम सत्यता हुन सक्छ
कफीसपमा बसेर मैले सारा विसङ्गतिहरुलाई
बिर्सने प्रयास कहाँ नगरेको हो र ?
एउटा पराकाष्ठामा
सधैँ — जीवन पेन्डुलम छ
तैपनि मान्छे छातीमा अहम् पाल्छ
यसरी मबाट बाँच्नुको नियतिसँग
सधैँ एउटा रहर मर्ने गर्छ
सधैँ एउटा विचार मर्ने गर्छ
र सयौ प्रेमहरु मर्ने गर्छन्
आज —
म जीवनको एक दिन
आफ्नै सपनाहरुको मृत्युमा सरीक छु ।