भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बा आउनु भएको छैन / सिद्धिचरण श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनु भइरहेछ-
बा आउनु भएको छैन ।

युग बद्लिसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जंजीर टुटिसक्यो,
अझ पनि आजादी आएको छैन,
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनु भइरहेछ-
बा आउनु भएको छैन ।

हाम्रो बिचारको घुँयेत्रोले
हाम्रो कल्पनाको बज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझ पनि नयाँ बिहान आएको छैन
नयाँ युग आएको छैन
नयाँ दिन खुलेको छैन
आमा कराउनु भइरहेछ -
बा आउनु भएको छैन ।