भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाक्लिएछ आकाश / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाक्लिएछ आकाश थपिएछ शून्यता
त्यसैले त गाह्रो भयो उज्यालोले चियाउन
ढुङ्गा भयो मुटु, ढुङ्गा भयो भाव
त्यसैले त गाह्रो भयो सुतेकालाई जगाउन
 
चरा पनि नब्यूँझने रात पर्‍यो दिनमा
बीऊ जति काटिदियो कीरा पसी मनमा
टुक्रिएछ आस्था पातलियो विश्वास
त्यसैले त गाह्रो भयो एउटै माला बनाउन
विरानो भो गाउँ , विरानो भो बेँसी
त्यसैले त गाह्रो भयो सुतेकालाई जगाउन
 
हिमाल हाँस्ने बिहानीको रक्ताम्मे भो ओठ
वात्सल्यका छातीभरि परे चोटैचोट
रित्तो भयो सिउँदो , रित्तो भयो कोख
त्यसैले त गाह्रो भयो नयाँ हाँगा पलाउन
पराई भए आफ्ना , डराइरह्यो समय
त्यसैले त गाह्रो भयो सुतेकालाई जगाउन