बाटो सायद त्यतै हराएको थियो / निमेष निखिल
शून्यमा टेकेर
शून्य भैँतारिइरहेँ म
हिँड्दाहिँड्दा थाक्नुको आभाषमा
छातीभरि कुदाएँ संवेदनाका घोडेटापहरू
निरावलम्ब अँध्यारो
फक्रिरहेथ्यो मनका करेसावरिपरि
छामेँ/सुम्सुम्याएँ/छिचोल्न खोजेँ
जिन्दगी नामको पट्टेर काँडेघारी
सुदूर अतीततिर मिल्किए
सोचका ससाना मायाकिरणहरू
मैले हिँडेर पुग्नुपर्ने बाटो
सायद त्यतै छोडिएको थियो।
आहा! कति सुन्दर फक्रँदोरहेछ
तिम्रो गालाको खोबिल्टोमा
मैले युगौँदेखि खोजेको लालीगुराँस!
त्यो लालीगुराँस,
जसलाई पाउनुको अर्थमा
म दर्जनौँ मृत्युहरूमा अनुवाद हुनसक्छु
जसलाई एकआँखा नियाल्नुको अर्थमा
म सयौँ जन्महरू अन्धतामै बिताउन सक्छु
मेरो समग्र जिउँनुको सारस्वत दर्शन राखेर दाउमा
म छिचोल्न खोजिरहेछु
आफ्नै पाइतालादेखि तिम्रो त्यो गालासम्मको दूरी
एकपछि अर्का ढुङ्गेपहराहरू लामबद्ध उभिइरहेछन् अवरोधमा।
पीडक स्मृतिहरूमा मैले छिचोलेका
अनाहक/अकारण छिचोलेका चौडा राजमार्गहरू
दगुररिहेछन् आँखाअघि
मैले हिँडेर पुग्नुपर्ने बाटो
सायद त्यतै छोडिएको थियो।
र समेटिरहेछु एकसाथ आज
पीडाबोधहरू : बाटाहरू हिँड्नुका
पीडाबोधहरू : बाटाहरू नहिँड्नुका
बाटो !
मैले हिँड्नुपर्ने बाटो
सायद त्यतै छोडिएको थियो।