भन रामलखन ! / निमेष निखिल
रामलखन !
एउटै हो तिमीले र मैले ओढेको आकाश
उही हो ओछयाएको धरती र टेकेको माटो
उस्तै छ जीवन हिँडेको हाम्रो बाटो
भन ! कसले सल्कायो अविश्वासको आगो हाम्रो बस्तीमा -
कसले ठड्यायो विभेदको पर्खाल रातारात -
कसले सुकायो क्रोधित आँखाहरूको बिस्कुन
हाम्रै बस्तीका बाटाबाटा र चोकचोकमा -
मेरो कल्पनासम्ममा छैन
मेरो अनुपस्थितिको तिम्रो होली र छठ
तिम्रो अनुपस्थितिको मेरो दसैँ र तिहार
तिमी नभएको मेरो छोराको बिहे
म नभएको तिम्री छोरीको मगनी ।
मलाई लाग्दैन बिर्सन सक्छौ तिमी-
एउटै डगरमा
हामीले नाङ्गैभुतुङ्गै तय गरेको जिन्दगीको लामो यात्रा
र सँगै काटेका सुखदुखका कुइनेटाहरू
भन्न सक्छौ तिमी-
हामीले सँगै बगाएका पसिनाको मात्रा ?
या नाप्न सक्छौ सुखदुखको सुगन्ध-
हामीले एक साथ अनुभूत गरेको ?
भन रामलखन !
कहिले निभाउने यो अविश्वासको आगो ?
कहिले ढाल्ने विभेदको पर्खाल ??
कहिले उठाउने यो घृणाको बिस्कुन ???
हुनत तिमीमा पनि छ र मभित्र पनि-
भन रामलखन !
कसरी निकाल्ने छातीभित्रको एउटै देश ?