भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भरिया, ज्यामी, इत्यादि / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डोकोमा गाउँ बोकेर
उकालो लागेको धनमान
ठाँटी पाटीमा कतै
एक बर्को शान्ति ओढेर
निर्धक्क
थकाइ निदाउँछु भन्छ
भरियाले चाहेको त्यत्ति हो।

डल्ला फर्काइफर्काइ घाममा
अधियाँ जोतिरहेको हर्षबहादुर
सुस्केरा रोपेर टारीमा
जीविका फलाउँछु भन्छ
ढिँडो खाने बेलामा अलिकति
शान्तिको सितन चाहियो
हलीको इच्छा त्यत्ति हो।

खसीको आँखामा
खुशी हुर्काएर
दसैँ पर्खिरहेका केटाकेटी
पारि पाखातिर
चितुवा कराएपछि
हारगुहार मागिरहेछन्
गोठालाको अुनुनय त्यत्ति हो।

औँला रोपेर असारमा
सहकाल कोरलिरहेका
रोपाहारहरु भन्छन्–
असिना आएन भने
पसिना फल्छ
सुरक्षाको छाता चाहियो
खेतालाको विनय त्यत्ति हो।

दिनभरि
ढुङ्गा फुटाएर गिट्टीमा
जीवन खोजिरहेकी
द्धन्द्धपीडित विधवालाई
टुहुरा छोप्न रातभरि
एक मजेत्रो शान्ति देऊ
ज्यामीले मागेको त्यत्ति हो।