भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
भविष्य निलो पीडा / देवान किराती
Kavita Kosh से
हिउँजस्तो चोखो सपनाहरू बिछ्याएर
हिँडेँ जतातिर म
खोजिरहेँ तिमीलाई
ए भविष्य !
तिमी प्रिय सपना ।
गएँ जता–जतातिर म
तिमी आयौ उतै, उतैतिरबाट आयौ
त्यो बखत कुनै फरकै देखिनँ
म उता जानु
र तिमी यता आउनुमा
त्यही बेला ठीक बीच–बाटामा भेटिनुपर्ने हामी
र ममा समाहित हुनुपर्ने सम्पूर्ण तिमी
तर तिमी त
आँखामा, मुटुमा र मेरो चेतनाको ठीक बीचमा
मात्र तिम्रो चोरऔँलाले घोचेर
खै ! कतातिर बत्तियौ कुन्नि, पत्तै पाइनँ ।
तिमीलाई नदेख्दा, नचिन्दा
कति रहरलाग्दो थियो जिन्दगी
तिमीलाई चिने÷देखेदेखि
फूलजस्तो निस्पाप सपनाहरू लिएर
जूनजस्तो सुन्दर सपनाहरू बोकेर
हिँडेँ जतातिर
पुगेँ जहाँसम्म म
खोंजिरहेँ तिमीलाई
ए भविष्य !
तिमी प्रिय सपना ।
तिमी नीलो पीडा ।