भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म नायग्रा झरिरहेछु / गोबर्धन पूजा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


संगालेर आशाका आभाहरू
भत्काउदै बाँधहरू बिरोधका
बोकी संकल्पका सुनौला किरण
अनवरत एक युग इतिहास
म नायग्रा झरिरहेछु
+ + +
संक्रिणताका भूगोलहरू भत्काउदै
गहिर्याएर अठोटका आगनीलाई
पिरतीको किनारसम्म फैल्याउदै
म नायग्रा झरिरहेछु
+ + +
हराउन चाहिन समुन्द्रमा
नबिलाउने दृढताको कसम !
विरोधपत्रको डुगालाई तैर्याउदै
आइपुगेको छु, यहाँसम्म

झर्नुलाई निहुरनु नठान्नु होला
झर्नुलाई हारेको नमान्नु होला
बिबादको बन्दरगाह ठड्याएर
बचनको बाण नहान्नु होला
म नायग्रा
सहनुको सीमा स्तम्भ ठड्याएर
समयसँगै परीक्षाफल मगिरहेछु
+ + +
स्वभावत: आगो हुँ म
परिस्थितिबश ,रुपान्तरित छु पानीमा
चिसिनु/ चिस्याउनु वा
भिजिनु/भिज्याउनुको निरन्तरता
बहनु / बहकिनु वा
बग्नु/ बगिरहनु
मेरो गतिशीलता
जिउदो हुनुको स्वविवेक
स्वाभिमानको पराकाष्ठा
म नायग्रा झरिरहेछु
+ + +
दासताको सिक्री तोड्दै
फाटेर हाँगा पुरातन नदीको
स्वाधीनताको समातेर बाटो
च्यातिदै / जोडिदै
टुक्रिदै / एकाकार हुदै
एक अंशियार म समुद्रको
+ + +
बनेर बिद्रोही लहर
च्यातेर परम्पराको आदेश पूर्जी
बालेर छातीमा मायाको धुनी
मत माग्दै आशिर्वादको
म नायग्रा झरिरहेछु
+ + +
रमेर ,अरुको उचाइको काँध
ठाडिनु मात्रै होइन अस्तित्व
भासिनु पनि हो सम्झौता
सक्नु पर्छ केचनाकलन हुन
बन्न खोज्नेले सगरमाथा
+ + +
हो दुख्छ मुटु
चिसिन्छ मन
झर्छ आँशु पीडाको
कुटुक्क खान्छ, बचनले विश्वाश
मान्छे हुनुको गौरव !
थिलथिल थिचिएर रोषको ढिकीले
घुन पिल्सिएसरी आरोपको जाँतोमा, आरोपित
जब बन्छ घटेरोको घातक योजना !
++ ++
शीर निहुर्याउनु हार होइन , कदापी होइन
शीर झुक्याउनु संहार होइन, किमार्थ होइन
हो, कसैलाई सम्मान गर्नु पर्छ
हो, कसैलाई मान गर्नु पर्छ

म नायाग्र शीर निहुराएर
सधैँ जीत पिइरहेछु
म नायग्रा शीर झुकाएर
सर्व हित सोचिरहेछु

जलेर बत्ती म नायग्रा
सबैको प्रकाश
टुक्रिएर म बादलको छेस्का
सबैको आकाश

बिलिन बायुमा अवतरित म नायग्रा
तलतल
अझ तल
झन् झन्
तलतल
हदै भास्सीएर
उचाल्न चाहन्छु सबैलाई
म नायग्रा झरिरहेछु
म नायग्रा झरिरहेछु
म नायग्रा झरिरहेछु