भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मसंग निराश कुरा नगर / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मसंग निराश कुरा नगर
सुन्न मलाई गाह्रो पर्छ यस्ता कुरा
लाग्छ -
मुटु खसखसाए जस्तो
सुन्दा यस्ता कुरा ।

निराशालाई
संधै मैले शत्रु मान्दै आएको छु
निराशा प्रति म कठोर छु
निराशा मेरो प्रतिद्वन्दी हो
म निराशाको अनुहारसम्म हेर्न चाहन्न
मसंग निराश कुरा नगर
तिमीले आफ्नै मान्छेत्वलाई नकारेका छौ
मलाई अर्ति नदेउ,
उपदेश नदेऊ,
शुभकामना नदेऊ,
'राम्रो हुनु, नाम कमाउनु
मेरो त ... !'
साथि !
मलाई तिम्रो अर्ति चहिन्न
शुभकामना पनि चाहिन्न
यसकारण,
कि मलाई निराश मान्छेबाट केहि चाहिंदैन
निराशाबाट केहि लिएर
म आफूलाई अपबित्र बनाउन चाहन्न ।

निराशा !
तिम्रो मान्छे भए
म अहिल्यै तिमीलाई काट्ने थिएँ
तर के गरुँ बिवस छुं !

मसंग निराश कुरा नगर
निराशा प्रगतिको बाधक हो
निराशा निरन्तरतामा पूर्णबिराम हो
निराशा मृत्यु हो
तिमी आफुलाई सानो देख्छौ
मलाई थाहा छ
तिमी हिनताबोधले ग्रस्त छौ
तर, थाहा हुनुपर्ने तिमीलाई मेरो साथि !
म तिमीलाई रोसका साथ भन्छु
तिम्रा पनि हातहरु छन्,
जसरी मेरा छन्, अरुहरुका छन्,
तिम्रा पनि खुट्टा छन्,
जसरी मेरा छन्, अरुहरुका छन्,
तिम्रो टाउको पनि उस्तै हो,
जस्तो मेरो, अरुहरुको ।

मसंग निराश कुरा नगर
आशा/प्रतिक्षा/प्रयत्न गर्न सिक
आफूलाई सानो मात्र नदेख
तिमी पनि मान्छे हौ,
तिमी पनि केहि गर्न सक्छौ
केहि बन्न सक्छौ ।

मसंग निराश कुरा नगर
आऊ,
बरु -
अलिकति पानामाको कुरा गरौं
अलिकति रुमानियांको कुर गरौं
अलिकति तियानमियान चोकको कुरा गरौं
देशको भावी आन्दोलनको कुरा गरौं
गणेशमानको कुरा गरौं
आऊ,
बरु -
अलिकति मोदनाथको कुरा गरौं
मोहनचन्द्रको कुरा गरौं
अलिकति गृहयुद्धको कुरा गरौं
सुरुङ युद्धको कुरा गरौं
मसंग निराश कुरा नगर
आऊ बरु -
अलिकति तिम्रै फाटेको भेष्टको कुरा गरौं ।