माछा बेच्ने दाइ / निमेष निखिल
अक्सर माछा बजारसँगको जम्काभेटमा
अनायास ठोक्किन्छ ऊ मसँग थाहै नपाई
डाकेर जातजातका माछाहरूको भेला लस्करै
सुनाइरहेको हुन्छ ऊ―
जिन्दगीका कथागाथाहरू।
उसका आँखामा
पढ्न नसकिने चिसा सपनाहरूको महाकाव्य छ
पीडाका हरफहरूले साम्राज्य कायम गरेको
सिङ्गो उपन्यास छ
बेगिन्ती कविता र कथाका ठेली छन् उसैसँग
माछाहरूकै लस्करमा
सुटुक्क मिसाएर एउटा धमिलो व्यावसायिक मुस्कान
वाणीभरि आत्मीयता घोल्दै सोध्छ ऊ―
‘हजुर ! कति किलो ?‘
पटक पटकको कारोबारमा
किन ऊ मसँग दुइचार रुपियाँ कम लिन्छ?
म बुझ्दिनँ
बरु धेरैपटक सुनेको छु मैले―
उसको जीवनगाथाका केही झाँकीहरू
‘मालिक! पोखरीवाला साव मछरीके भाव बढादेले बा
कहता― उधार ना देम्
निमन घरसे लड्की के सादी के बात आइल रहे
दहेज मे बात ना मिलला से टुट गइल
गाँव घरमे हुलदङ्गा बा
एकरा चल्ते कमाके खाए मे बडी दिकत बा‘
यस्तैयस्तै।
मानौँ शास्त्रीय रागमा गाउँछ ऊ―
‘हजुर यो छ नैनी माछा
यो असला, चिसो पानीको
रहु छ यो मछलीको राजा‘
म सोच्छु―
के असल भनिने यी माछाको स्वाद―
सम्झन सक्छ यसको जिब्रोले ?
म सुनिरहन्छु उसलाई एउटा कहानीजस्तो
हेरिरहन्छु दन्त्यकथाको कुनै पात्रजस्तो
माछा बेचेर जिन्दगी किनिरहेको मान्छेजस्तो लाग्छ ऊ मलाई
ऊ अर्थात् माछा बेच्ने दाइ।