मानिसको अस्तित्व / दैवज्ञराज न्यौपाने
१.
हान अझै तिमीले हानेको मान्छे खाने बम
मेरो मुटुको धड्कनलाई
कहिल्यै भत्काउन सक्ने छैन,
एकदिन बहुलाउने आँधीले नै
संसारमा फुल्ने मेरो मानव
कहिल्यै रित्याउन सक्ने छैन,
मेरो हाड चुस्न प्यासिएका कुकुर
तिम्रो भाइमाथि नै द्रोह छ भने
बरू आऊ भिक्षा माग्न
मेरो एक चोक्टा मासुमा एक मुठी रगत।
२.
बम हान्ने दाजु ! के तिमीलाई थाहा छैन
तिम्रो अस्तित्वले डाँडा काटिसकेको छ
तिम्रो व्यक्तित्व डुब्न लागिसकेको छ
तिमी बन्ने धर्तीको नातामा
तिम्रा बाबुको र आमाको माटो
तिम्रा छोराको र तिम्रै माटो
यही धर्तीको माटोले
तिम्रै विरोध गरिरहेछ ।
३.
तिमीले सोचेनौ
अस्तित्वमा किचिनु हार होइन मान्छेको
व्यक्तित्वमा थिचिनु हार होइन मान्छेको
न त स्वाभिमानमा फुल्नेलाई
बाँच्नुको अर्थ नै विजय हो,
मेरेरै पनि जित्नै सकिन्छ युगलाई
मरेरै पनि बचाउन सकिन्छ साहसलाई
तिम्रो मूर्खतामा
थाप्ने थाप्दैछ अझै अस्तित्व सँगालेर
अनि उ थपिरहन्छ साहस अँगालेर
यस्तैमा एकदिन मरेको परेवा बोकी
व्यूँझन्छ बुद्ध आफ्नै चिहानदेखि
अनि हान्नेले हार खानेछ
देखेर अस्तित्व मानिसको।