मान्छे / देवान किराती
.........तीरहरूझैँ
तीखा शब्दहरू भिरेर
युद्घको रचना गर्छु ।
छुरी आकारका मेरा औँलाहरू
युद्घको तयारी गर्छ
पेस्तोल आकारका मेरा जुत्ताहरू
युद्घको घोषणा गर्छ
बिनसित्ति पनि कहालिएर
मान्छेहरू घाइते देख्छु ।
दृष्टिभन्दा अलिक पर पनि
म युद्घको षड्यन्त्र गर्छु
मेरो मुटुमा
कुनै शब्दका वाणहरू छिर्दैनन्
बम–आकारका मेरा आँखाहरू
युद्घको बत्ती बाल्छ
विनाहतियार पनि तर्सिएर
मान्छेहरू घाइते देख्छु ।
स्थलमार्ग
जलमार्ग
हवाईमार्ग÷सबै मार्गहरू
मेरो युद्घको परिधिभित्र पर्छन्
क्षेप्यास्त्र आकारका मेरा ओठहरू
युद्घको अन्तिम घोषणापत्र पढ्छ
र सुरुवाती बिगुल फुक्छ– युद्घको
विनाविष्फोट पनि आत्तिएर
मान्छेहरू घाइते देख्छु ।
मान्छेहरू सबैसबै आ–आफ्नै देवता पुकार्छन्
देवता
अर्थात् ढुङ्गा !
ढुङ्गाजस्तै मान्छेको अनुहारमा
संवेदनाहरू मृत्युअगावै मर्छन्
र संवेदनाहीन देवता–मान्छे
सबै घाइते देख्छु ।
म
पेस्तोल–मान्छे
बम–मान्छे
क्षेप्यास्त्र–मान्छे
मान्छेविनाको मान्छे
युद्घको तयारी गर्दागर्दै
आफैँ घाइते छु ।