मासिँदै गएको अनुहार टाउकाको / ज्ञानेन्द्र खतिवडा
झुल्किएको सभ्यताको
औँलो समाएर
अग्लँदै गएको टाउको
फेरि
ओरालो लाग्दैछ— यसबेला
सुरुमै फ्याँकेको पुरानो
अनुहार नपरेको अनुहार
पुनः टाँस्दै छ
उठाउँदै
टाउकाको अघिल्लो भित्ताभरि
झर्दैछ—
सभ्यताको घोडाबाट हाम फाल्दै
हो, चार पाउमै कुद्ने रे
डार्विनका
रामबहादुरहरू
हरिओम्हरू
जर्ज बुसको रामधुनी
जगाएर
छाक टार्न पल्केका पाखुराहरू
सधैँ
पुर्पुरोलाई दोस्याउँदै
झर्दै छन् ओरालो
सभ्यताले
सुलसुती खेल्दैछ— यतिखेर
झर्नपनि
कस्तरी झर्न सकेको
अनुहार टाँसेर टाउको
पाइतालातिर
टाउकालाई
लाजै नलाग्ने भो— यतिखेर
अनुहार अलमलिएर
घरी–घरी
पुच्छर र सिङको हाँचमा
नभेटेको होइन घरी–घरी
साँच्चै
झर्न पनि त
कस्तरी झर्न सकेको
अनुहार टाँसेर टाउको
पाइतालातिर
साँच्चै
खस्न पनि त
कस्तरी खस्न सकेको
अनुहार टाँसेर टाउको
पुच्छरतिर ।