भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत्यु नाँच / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मान्छेहरूको जङ्गलभित्र
एक हूल मृत्युहरू पछ्याउँछन् मलाई ।

अलिकति मरिदिन्छु म
अलिखित सम्झौता गरेर मृत्युसँग
थोरै बाँचिदिन्छु भोलिका लागि
बैँस फुलेका बूढो कायाहरू
तर्काउँछन् आँखाहरू त्रसित
डराउँछन् र लुक्न खोज्छन्
मान्छेहरूकै जङ्गलभित्र.........

मृत्यु
सडक, चोक या कुनै ’नि सार्वजनिक स्थान
भेग–अभेग जुनसुकै ठाउँ
जप्छ– मन्त्र आफ्नै
“ॐ स्वाहा !
 ॐ भस्माय !”
त्रसित मान्छेहरू
हतास–हतार भाग्न खोज्छन्
जङ्गल छिचोल्दै तिनै मान्छेहरूको
सत्य ! कोही लुक्न सक्तैन कतै
मृत्युको नजरबाट मान्छे ।

ताव ! ताव ! ताव !!
जीर्णोद्धार बाँकी चेतना
टुक्राटुक्रा फालिदिन्छ सुम्निमा–पारुहाङ
मान्छेहरूको जङ्गलभित्र
कोपर्छन्, चिथोर्छन्, भर्छन्.....
मान्छेहरू मृत्युचेतना ।

मान्छेहरूको जङ्गलभित्र
आगो निकाल्दै मुखबाट
एक हूल मृत्युहरू नाचिरहन्छन्
टमटम टमटम टमटम !
र मान्छेहरू हेरिरहन्छन्
मृत्युनाचहरू ।