भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरी दिदी / ज्ञान उदास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरी दिदी कस्ती कस्ती
रोएर पनि
सधैं सधैं हाँसिरहेकी जस्ती
केही हराएर पनि
केही पाइरहेकी जस्ती !
औँसीको रातपछिको
पूणिर्माको जूनजस्ती ।

हो, तिनी पक्कै फूलजस्ती
रसयुक्त फूलजस्ती !

आँखामा राखेर पनि नबिजाउने
मेरी दिदी !
सधैं सधैं 'भाइ' भनेर
'दाइ'लाई भुल्न आँटेकी जस्ती
केही हारेर पनि केही जितिरहेकी जस्ती
कस्ती कस्ती
केही बिर्सेर पनि
केही सम्झिरहेकी जस्ती !
मेरी दिदी कस्ती कस्ती ।

मायाले बेचेर
ममताले किनिहालूँजस्ती
सधैं सधैं मेरो दुःखमा रोइरहने
मेरो सुखमा हाँसिरहने
मेरी दिदी
तिनलाई सम्झेर, मेरो हृदय नै हर्दम
आनन्दित-प्रफुल्लित !
कसो-कसो
तिनलाई आकाशका तारासँग
तुलना गरिरहूँजस्तो ।

मेरी दिदी कस्ती कस्ती
सधैं सधैं पूर्वतिर मुस्कुराउने
बिहानी उषाजस्ती !