मेरो कविता लेख्ने प्रण / निमेष निखिल
आखिर किन लेख्नु कविता ?
जब समयकै खती हुन्छ भने यो
आज सोच्दै छु म।
संवेदनाविहीन गैँडाको छालाजस्ता मनहरूमा
ध्वनित हुन सक्दैन कविता भने
चेतनाको डाँक बोकेर कविता
मान्छेको बस्तीभित्र पस्न सक्दैन भने
भन्नोस् महाशय!
आखिर किन लेख्नु कविता?
जब यो मात्र समयको खती हुन्छ भने।
थाहा छ भोकालाई एक डल्लो ढिँडो बन्न सक्दैन कविता
लङ्गडोलाई बैसाखी पनि बन्न सक्दैन कविता
कवितामा भोकशमनका सपनाहरू देख्छ मान्छे भने
कवितामै सहाराका हातहरू कल्पन्छ मान्छे भने
कविताप्रतिको यो आस्थालाई
कसरी पो भत्काउन सक्छ एउटा कवि ?
मैले कविता लेख्ने प्रण गरेको छु
असंवेदित मनहरूलाई संवेदित बनाउन चाहन्छु म
मैले कविता लेख्ने प्रण गरेको छु
बस्तीहरूमा चेतनाको डाँक फिँजाउन चाहन्छु म।
देखून् !
देख्नेहरूले देखून् !
भोकाहरूले भोकशमनका सपना देखून् कवितामा
बेसहाराहरूले सहाराको सपना देखून् कवितामा
यिनै कविताप्रतिका स्वप्नील आस्थाहरूको संरक्षणार्थ भए पनि
मैले कविता लेख्ने प्रण गरेको छु।
आखिर किन लेख्नु कविता?
जब समयकै खती हुन्छ भने
यसो भन्नेहरूको जवाफका लागि नै भए पनि
मैले कविता लेख्ने प्रण गरेको छु।