भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरो कोठामा / सुमन पोखरेल
Kavita Kosh से
तिमी गयौ, यो मन हर्षित छैन मेरो कोठामा
मनको दुखाइ सीमित छैन मेरो कोठामा
बेग्लै मजा थियो तिमीलाई फकाउनुको
तिमी नहुँदा हारजीत छैन मेरो कोठामा
वर्षात् छ हजारौँ कल्पना र सम्झनाको
तिम्रो कुनै चिज विस्मृत छैन मेरो कोठामा
न पर्दा हल्लिएका छन् न दीप चलमलाउँछ
तिमी छैनौ, जोश जीवित छैन मेरो कोठामा
टुङ्गो छैन कति बेला कता बग्ने हो झरेर ?
आँसु आज सुरक्षित छैन मेरो कोठामा
बिछोडको यो रातमा निश्वास चिसोचिसो छ
मानौँ कुनै कोठा उपस्थित छैन मेरो कोठामा
चुरा, कल्ली, पाउजू, झुम्का, र त्यो चाल तिम्रो
तिमी नहुँदा कुनै सङ्गीत छैन मेरो कोठामा
कसरी बसूँ यो नीरव उदासीमा सुमन !
रात छ, म छु तर, प्रीत छैन मेरो कोठामा