मेरो गाउँ / निमेष निखिल
यात्रामा यात्राहरूभन्दा पर
विचारमा विचारहरूभन्दा पर
विज्ञानभन्दा पर/त्रासभन्दा पर
दूर क्षितिजमा दन्त्यकथाजस्तो
अवस्थित छ मेरो गाउँ।
परिश्रमका पहाडहरू चढेर
पसिनाका नदीहरू तरेर
कालरात्रिमा पनि उद्दीप्त हृदय
चम्किरहेछ मेरो गाउँ
के तपाईँ मेरो गाउँ जानुहुन्छ ?
बैँसालु मेरी छोरी
मनका धवल हिमगिरिहरूमा स्वच्छन्द नाच्छे
मुग्धानायिकाझैँ तपार्इँलाई देखेर टोलाउली
उसका अबोध आँखाहरूमा
अतृप्त रहरहरूको गथासो पढ्नुहोला
शून्य आँगनको डिलमा
बुख्याँचाजस्तो ठिङ्ग उभिने आकृतिलाई
दारिद्र्यको विज्ञापन नसम्झनुहोला
ती मेरा बाबु हुन्
ठाउँठाउँमा टालिएको गुन्युचौबन्दी
राष्ट्रप्रेमभन्दा बाध्यता हो मेरी आमाको
भग्नपहिरनमा जस्केलाबाट
असजिलो चिहाउने मेरी श्रीमतीलाई
अङ्गप्रदर्शनमा उभिएकी कुनै मोडल नसम्झिदिनुहोला
नाङ्गैभुतुङ्गै आँगनमा माटो खेल्ने मेरो छोरो
तपार्इँ र तपाईँको खल्तीको कलम देखेर
विस्मित होला तपाईँजस्तै।
स्वागतमा हामी
हृदयको द्वार खोल्न सक्छौँ
दुई वचन मीठो बोल्न सक्छौँ
के तपाईँ मेरो गाउँ जानुहुन्छ?