भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो चोक / भूपी शेरचन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
असङ्ख्य राग छ,
अनन्त भोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ।
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ।
तर यहाँ यी दुवैथरी उदास छन्।
दुवैथरी निराश छन्।
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात–रात–भरि उपियाँले टोक्छ
दिन–दिन–भरि उपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन? सबथोक छ।

(२०१७–साहित्य)