मेरो पहिचान / सविता गौतम दाहाल
वार्दलिको पहिलो शुभ विहान
नयां पहिचानको आत्मीय स्वागत
परिवारका सवैमा मुस्कानसगैं फक्रेको पाए ।
सधैं एकनासे हरीया विरुवाजस्ता विद्यार्थीहरु
विद्यालयको मुलद्धार पसिरहदा
कहिले कसिङ्गरसंग खेल्दै
कहिले लुगा सुकाउदै
त कहिले विस्कुन उठाउदै हुन्थें।
घर धन्दाकी शिपालु राजकुमारी म
थाकेका दिनसंग मस्त निदाएर व्युझदाँ
चामल, दाल, साग अनि अनगीन्ती कपडा
फूलबारीसंग भलाकुसारी गदै हुन्थे मेरो प्रतिक्षामा ।
कौशीबाट एकनजर हरियो नदीमा डुबुल्की मार्न
लालायित मेरा किशोरी आँखा
आफनो स्कुले प्रतिविम्ब देख्थे कुनै एउटा विरुवामा
आफूपनि वगेको आभाषमा पूरै हराउथे अनि रमाउथे पनि ।
कैंयौ वसन्तपछि
विरुवाहरु अचम्मको भ्याङले कोटसंगै
झल्लेरी झरेको टोपीमा
एउटा दरो कागज एक अर्कालाइ देखाउदै
अलविदाका अंगालो साट्दै थिए ।
केही दिक्षितसगैं सहयात्री हुन पुगेछु
भरिभराउ जीवनका सपना
सजाउदै गरेका उनीहरु
अपरिचित थिएनन मेरा लागि
झस्की रहें यात्रा भरि
घरि साहेब आउने वेला भएझैं लाग्थ्यो
त घरि सानो बाबु ।
साहेबको नजरमा मेरो गालाको लाली
अोर्लन थालेपछि
साहेबनी आमाले मलाइ अन्माउने निर्णय
गरेकी थिइन्
विदाइको क्षण, भक्कानिदै खुब रोएकी थिईन
रातो साडी र सिन्दुर विनाकी बेहुली म
न बेहुला, न कुनै आयोजना
केवल विछोडको पीडा थियो ।
मेरो गांऊको चौतारी
कल्पनाको आगमनमा रमाएन
“यो पो फर्की छ “उतै एउटासंग
रमाएकी भए हुन्थ्यो” को
आवाजले भीरबाट खसेझैं होस गुमाए ।
साथीहरु कल्पना ! कल्पना !
भनिरहदा केही सुनिनछु
म माथिको आकाश थिएन
म मुनिको धरती थिएन
मेरो छेउको शीतल छहारी थिएन् ।
रित्तो रित्तो मेरो मन
डाँडापारिको प्रतिध्वनि सुन्छ
कान्छी ! कान्छी !
कान्छी दिदी ! कान्छी दिदी !
क्षितिजतिर फर्केर सुन्छु
मेरो नाम, मेरो पहिचान ।