भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेला छ / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

१.
बाला चतुर्दशीको दिन
आज पशुपतिनाथमा मेला छ,
अतीतका पुर्खाहरूलाई सम्झाउने दिन
धेरैधेरै वस्तुबाट सद्मीझमा पवित्रता बन्ने दिन
घुम्दै फिर्दै वर्षवर्ष दिनमा आउने दिन
यसमा गतिशील संसारको खेला छ
आज पशुपतिनाथमा मेला छ।

२.
सद्मी छर्ने यात्रीहरूको भिड
सडक, मोटर र बाटाहरूमा
सधैँसधैँ बढिरहेछन्
यहाँका पसल पसलहरूका
गुणात्मक मूल्यहरूलाई
सधैँसधैँ तिरिरहेछन्,
यिनी जान्छन् पानीजस्तै
र यिनी आउँछन् भेलजस्तै
यसैमा त जीवनको खेला छ
आज पशुपतिनाथमा मेला छ।

३.
यी बत्ती बाल्नेहरूले
आफ्नो मनको बत्ती बाल्न सकेनन्,
यी गीत गाउनेहरूले
आफ्नो दिलको गीतलाई गाउन सकेनन्,
यसैले त मलाई भनूँभनूँ लागेको छ –
कैलासको डाँडामा र
वरिपरिका भागहरूमा
केके केके खेला छ
आज पशुपतिनाथमा मेला छ ।

४.
ए जवानीमै जागर मरेका तन्नेरीहरू
बैँसमा बैँस दिएजस्तै
काँधमा काँध दिएर त हेर
मोजमज्जा र रमिता गर्नुभन्दा पहिले
यहाँ त पसिनैपसिना बगाउने वेला छ
आज पशुपतिनाथमा मेला छ।