भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मोतिको कुण्डल / लक्षन्था अथुकोराला / सुमन पोखरेल
Kavita Kosh से
अझै मसँगै छ मोतिको कुण्डल
तिमीले हराइसकेकी पनि हुनसक्छौ यसको जोडी
लगाउन मिल्दैन जसलाई एक्लो।
मोतिको कुण्डल!
जो हराएको थियो एकपल्ट
पहाडी प्रदेशको पार्कको सिंगमरमरे बाटामा
र भेट्टएको थिएँ घन्टौँको प्रयासपछि मैले।
मोतिको कुण्डल!
मैले तिम्रा कानका कोमल लोतीसँगै चुमेको थिएँ जसलाई
दक्षिणी समुद्रतटको बालुवाको गलैँचामा
जसबेला चम्किरहेथ्यो त्यो
अस्ताउँदै गरेको सूर्यबाट किरण खसिरहेका बेला।
मोतिको कुण्डल!
कोलम्बो बसमा हामी रोएका दिन
आँशुको लेपन लागेका औँलाले फुकालेर
दिएकी थियौ तिमीले मलाई
नहराउनु कहिल्यै भन्दै ।
मोतिको कुण्डल!
बसिरहेछ मेरो किताब राख्ने दराजको माझमा
प्रेमका सम्झनाहरू बोकेर।
एउटा ठूलो किताब हो यो पनि
दुःखको स्वाद मिसाएर लेखिएको ।