मोहन कोइराला / श्रवण मुकारुङ
कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला...!
यसरी–
कतिपल्ट बिसाएँ हुँला– अडेसोमा ?
मेरो सपनाजस्तो
बगिजाने यो खोलाको पानी
कहाँ पुग्यो होला अहिले...?
कठै ! यो रुख
त्यस्सै बूढो भएछ
धेरै अघि मलाई–
यसैमा झुन्डी मरुँ लागेको थियो
बचाएको थियो– यही रुखको त्यो यौवनले
त्यसको गोलो छायाँ
अझै हिँडिरहेछ– मेरो कुमकु भएर ।
कति हिँडेँुँलाह
यो जीवनमा म कति हिँडेँ हुँला...!
मैले छोडेर आएकाहरूलाई भन्नु थियो–
मलाई लिएर आउनू !
मलाई छोडेर गएकाहरूलाई भन्नु थियो–
पुगेर मलाई भेट्नू !
उफ् ! यो मध्याह्न
रगत खाने तिर्खा
कति निमोठ्नु निधारका यी निमुखा पसिनाहरूलाई ?
भिज्छ– सप्पै आङ
गल्छ– गोडा
थाक्छ– आँत
मैले त नुनेसओकोर हुँ
पानीको नाला
कर्कटपाता ओसारेको हुँ– पहाडलाई
यो बाटोका धूलोहरूमा
कहाँ हराउँछन् कहाँ– मानिसका पदचिह्नहरू !
कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला...!
धर्ममा मरुँ भने कर्म गरेँ
धर्र्मैको त आयु हुन्छ/ आयुको त आयु हुन्छ
हिसाब हुन्छ–
स्वर्गको कर्मको
नर्कको कर्मको
कर्मको कर्मको
छिः !
मानिसको कर्म
कतिपल्ट टेकाएँ हुँला–यो तोक्मा ?
यसरी–
सबैलाई सुनाउँछु भनेर आफैँलाई
कतिपल्ट सुनाएँ हुँला– आफ्नो गीत... ?
आपत्मा सघाउने रामलाई पनि थाहा छैन–
म कति हिँडेँ ?
विपतमा सम्हाल्ने मेरी मायालुलाई पनि थाहा छैन–
म कतिपल्ट लडेँ–लडेँ !
अरू कसलाई थाहा हुन्छ
म नरोएको मान्छेको आँसुको कथा–
कसलाई थाहा हुन्छ... ?
अहा !
कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला...!
भारी बोकेर कविताको ।