युद्धका दिनहरू / ज्योति जङ्गल
फूलमा भय फुलिरहेथ्यो
हावामा आतङ्क कुदिरहेथ्यो
घामजूनलाई सराप्थेहोलान् चराहरु
झर्को लाग्थ्यो ती स्वरहरु।
माथि भन्ज्याङतिर
कसैले पनि हेर्न सकेनन्
आफ्नु कोही आइरहेको छ कि ?
जङ्गलले तर्साएर
चाडै टासिए सिरिसका पातहरु
गुनासो नगरी घर फर्किए
नअघाइकन वस्तुहरु।
कुनै कारण थिएन
तर सन्नाटाको कुहिरो गस्ती गरिरहेथ्यो सबैतिर
दिउँसै रित्तिए मान्छे हाटमा
केही खर्चनु बाकी थियो,
चोक झोक्राएर बसिरह्यो
बन्द दोकानका ढोकासग।
साझमा बालकहरु
खाबेडुम खेल्न निस्किएनन्
गोधुलीमा क्षितिज उडिहिड्ने
कविमनहरु
अमिलिएर दुखिरहे।
ती दिन,
युद्ध गर्नेहरु पनि
प्रार्थना गर्दै थिए
चाडै सकियोस् युद्ध,
सम्झन्छु,
एउटा तोते आवाज
सोधिरहेथ्यो
आमा ! यो बन्दुकको गोली
तपाईंको पछ्यौरीले छेक्छ कि छेक्दैन ?