राप्ती तरेर सूर्यास्तमा / रमेश क्षितिज
निला पहाडको छातीबाट
ताराहरूजस्तै छिरलिएका
भेडाबाख्राहरू समेटेर गोठालोबाट
सूर्यास्तमा
घर फर्किरहेकी अबोध बठिनियाका आँखाहरू हुँदै
डुबिसकेको छ एउटा बोझिलो दिन,
पारि पाखामा
कोही गाइरहेछ लय हालेर
पोथ्राहरू लछारेर गएको किशोर बतास
सुसेल्दै हिँडिरहेछ
चम्किला डाँडा र पाखाभरि,
जिन्दगीमा
पहिलोपल्ट जिन्दगीलाई प्रेम गर्न थालेर
आँसु पुछी हिँडेकी थरुनी
भारी बोकेर काटिसकेकी छ लामो बाटो
भन्थी –
“नेगतेँ रहम्–नेगतेँ रहम्, जहाँ पुगम् पुगम्”
थर्कोटको उकालोजस्तो कठिन जीवनयात्रा छुट्टै
बास खोज्छ सूर्यास्तमा,
भित्तामा टाँसिएका फालाबाङ्जस्ता गाउँहरूमा
रोगाएका खुसीहरू अलपत्रै छन्
शोकाएका जीर्णजीर्ण पुराना दरबारहरू
र काला पहाडबाट फर्किने बाटो हेरेर
बसेकी स्वास्नीमान्छेजस्ता
एक्ला–एक्ला मन्दिरहरू त्यसै छन्,
स्वर्गद्वारीजस्तो शान्त मनमा
कसले बालिदिन्छ अखण्ड धुनी पीडाका ?
र यी आरक्त गुराँसहरूको
संक्रामक ओइलिनु
सर्दै जान्छ मुस्कान फुल्नुपर्ने ओठहरूमा ?
सबैले भुलेर हिँडेको गाउँको
चौतारीमा हाँस्दै दाँत फुक्लिसकेका एकत्र बुढापाकाहरू
र धोत्रोधोत्रो स्वर !
... कहिले हात्ती सालघारीमा कहिले हात्ती दाङमा
... बादल फाटी घाम लागिजा बैरागीको आङमा,
सूर्यास्तजस्तो छ प्रत्येक जिन्दगी
हिँड्दाहिँड्दै कहिँनेर
रात पर्न सक्छ बीचबाटोमा,
बास नखोज
माल्नेटाको अदुवाजस्तो हत्केलाले निधार छेकेर
नहेर डुब्दो दिन
आजै तर संघर्षको राप्ती
ऊ पर माथि पहाडतिर छ गन्तव्य !