रोदन (श्लोक १ देखि ११) / नरेन्द्रप्रसाद कुमाईँ
(१)
मनको तटमा बारम्बार
पारी याद लहरको घात,
जीवनमा अब दुःखको बग्छ
खोला भीषण गर्जनसाथ |
(२)
मन-तंत्रीको छिन्न तारमा
झंकार जब यादले दिन्छ,
सारा तनमा हाहाकार
पार्ने एउटा स्वर मचिन्छ ।
(३)
आहतको त्यो मनको घात
नित्यै भित्री मनमै बस्छ,
पीडाले जब गर्छ असह्य
मोती भएर तब त्यो खस्छ ।
(४)
मनको कालो दुःखको बादल
याद गिरिसँग टक्कर खान्छ,
एउटा ठूलो झरी लगाई
आँशु भैकन खस्तै जान्छ ।
(५)
जीवनको जुन ज्योति निभेथ्यो,
मनमा त्यसको ‘दाह’ बसेथ्यो,
यादको पर्दा एउटा फूँ क
विरहानल भै आज उठ्यो ।
(६)
मिलनको भयो सपना भङ्ग
बिपना भयो – एकाकीपनको,
सुन्दर, सुखद, क्रीड़ा प्रेमको
केवल पीड़ा बन्यो मनको ।
(७)
हाँसिरहेको चन्द्र खड़ा त्यो
अघिको मेरो आह! हरायो
त्यो हाँसोको यादले के वल
एउटा दीन हृदय रूवायो ।
(८)
जीवनको ज्योति निभाई
बाले सानो प्रेम-चिराग,
निर्भर यसैमा सारा गर्छ
मेरो सुख-दु:ख, भाग-अभाग ।
(९)
मनमा नव उल्लास भरेथ्यो
जीवनमा नव-स्पन्दन,
नव आशा थियो-नव अभिलाषा
मनमा सुखको नूतन क्रन्दन ।
(१०)
लियो पवनले मराली-चाल
सौरभ भारले मंन्द मृदुल,
शीतलताको जल-कण छर्की
आयो संध्या जगमा पल-पल ।
(११)
शीतलतामा एक अदृश्य
मादकताको बास परेथ्यो,
विश्व मानस उन्माद गर्ने
जहाँ एउटा जादू लुके थ्यो ।