रोदन (श्लोक १०० देखि ११०) / नरेन्द्रप्रसाद कुमाईँ
(१००)
मनोरम त्यो मोती टिपेर
दुःखको एउटा हार म उन्छु,
उसको प्रेमको सम्झी भेट
गला लगाई खुशी भै रून्छु ।
(१०१)
जसले प्रेम गरेको छैन,
उसकन प्रेम छ एउटा क्रीड़ा,
हाँस्ता मुख जब आँखा रून्छ,
जान्दछ तब प्रेमको पीड़ा।
(१०२)
खेल्ने वनमा सुखसित हरिणी
पाई मेरो आहट आहट डर्छे,
उसको प्यारो नयन लिएर
मुखमा मेरो किन त्यो हेर्छ !
(१०३)
मारूत जब त्यो हलुका धक्का
दिन्छ माधवी लता उ झुम्छ,
उसको प्यारो पातलो देह
मेरो नयनअघाडि घुम्छ ।
(१०४)
पच्छिम नभमा संध्या-पलमा
दूजको पातलो चन्द्र हाँस्छ;
उनको पतला ओंठले एक
मधुर प्रेमको कथा कहन्छ ।
(१०५)
बनको बीचमा लुकी लुकी बोल्ने
कोकिलले जब निशिमा बोल्छ,
उनको प्यारो मधुरो बोली
ढोका सुस्त यादको खोल्छ ।
(१०६)
सरिता तट औ चन्द्र खुलेको
लहर औ ज्योत्स्ना खेलीरहेको
उनको असीम सुखको हाँसो
त्यो क्रीड़ामा बोलिरहेको ।
(१०७)
हेरी-हेरी किन त्यो हाँस्छ
भत्किसकेको मनको साज!
नदको उरमा चम्कि रहेको
तारकगणको छाया आज ।
(१०८)
नदी किनारा नगीचै कु ज
पक्षीगणको कलरव भारी,
विहंगगणको मोदको गाना
गर्छ वेदना नयाँ तयारी |
(१०९)
नील पोखरी पंकज लाल
कस्तो सुन्दर हाँसिरहेको !
काला दृगमा यौवन-लाली
को त्यो जस्तो बास परेको!
(१००)
संध्यापखको निश्चल नदको
गहिरोपनमा एउटा सुख छ,
उनको रहस्यमय आँखाको
उसले प्यारो कथा कहन्छ ।