रोदन (श्लोक १२२ देखि १३२) / नरेन्द्रप्रसाद कुमाईँ
(१२२)
डरले दुःख त्यो टाडै भाग्छ,
सुखको डंका जब त सुन्छु;
सुखको सपना होला विपना
विपना दु:खको सपना हुन्छ ।
(१२३)
पीड़ाको त्यो गह्रौं भार
लाग्छ जसै त्यो दूर-किनार,
ॐ वाझै भै मन यो उडू छ
पर बादलको पनि देश-पात |
(१२४)
स्वर्णिम त्यो जगमा फेरि
होला सुखमय प्रिया-मिलन;
दुइटा काया एउटा प्राण
प्यारो लामो-लामो चुम्बन ।
(१२५)
मेरो मानस जगतीतलमा,
स्मृतिहरूको सानो बस्ती छ;
निराशाको जब रजनी हुन्छ –
चन्द्र प्रेमको ज्योत्स्ना छर्छ ।
(१२६)
विरह-बोझले ग्रस्त भएर
जीवन अब अति गलित भयो यो;
अतीतको त्यो मधुमय दिनको
याद हुँदा झन् व्यथा बग्यो यो ।
(१२७)
विरह अहो! अझ चर्को हुनगो
याद फेरि जाग्रत बन्नगो;
निर्मल जूनले हाँस्ता पनि लौ
उनको शशि-मुख याद हुनगो ।
(१२८)
कोकिलको त्यो मधुरो बोली
सुन्दा पनि अह! मन तर्कन्छ;
हरिणीको त्यो कालो आँखा
विस्मृत प्रेमको कथा कहन्छ ।
(१२९)
श्वेत-शीतका दानाकन ती
उषाले जब रंजित गर्छ;
सेतो मुखको मृदु लालीको
तस्वीर हृदय अझ पनि खिच्छ ।
(१३०)
बादलको जब किनाराबाट
शुभ्र चन्द्र त्यो मुस्कुराउँछ;
उनको मोती वर्षा
गर्ने हाँसोको झट्ट याद आउँछ ।
(१३१)
उनको हाँसो मेरो आँसू
सत्य-प्रेमको कथा कहन्छ;
त्यो हाँसोको नलिनी उनको
मेरो आँसूमा फक्रन्छ।
(१३२)
विरह-व्यथा सब आँसू बने
लागे भर्न गहको खाड़ी
प्यारो मधुरो निन्द्रा फेरि
भाग्यो नेत्र-प्रदेश छाड़ी।