रोदन (श्लोक ६७ देखि ७७) / नरेन्द्रप्रसाद कुमाईँ
(६७)
जीवन-मरूमा दुःखकै दह होस् –
दृग-जलले जुन पूर्ण गराओस्;
सात्विक-प्रेम कमलले नित्य
जलमा मस्तक उच्च उठाओस् ।
(६८)
सागरका सब लहर चंचल
बने आज गम्भीर कसरी,
पाई एउटा मनमा चोट
शान्त भयो कि उ पनि यसरी |
(६९)
बन्द भयो अब कोकिल-गान
भुल्यो उसले गीतको तान
आँखा चिम्ली मूक बसेको
लागी उरमा विषमय वाण।
(७०)
सारा जलको धार सुके र
सरिताले पनि छाडिन् हाँस्न
केवल मनको अन्तरभित्र
सुनिने एक करूण-क्रन्दन |
(७१)
फूलका बोट सब छन् सिन्का
कलिको मधुर हाँसो छैन,
मधुकर नै अहा! उदास
आहत उ पनि गुञ्जन छैन ।
(७२)
जसको उरमा मेला खास
लागिरहन्थ्यो बाहै मास-
विश्व उहि नै शून्य उदास
बाँकी केवल मुठीभर साँस ।
(७३)
प्यासा छाती शीतल पार्ने
चातकको पनि पुकार छैन,
स्वातीको जल कसरी मिल्ने
नभमा मेघको नामै छैन ।
(७४)
दुःखको कुइरो उठ्यो नभमा
हरे सुखको भानु हरायो,
दुःख-सुखको यो झगड़ा हेर्दै
जीवन-जगमा गोधुली आयो ।
(७५)
देख्ता-देख्तै जलको धार
बीचमा गैह्रो भीषण त्यस्तो,
व्यर्थै नदीको युगल किनार
मिलन आश लिई निश-दिन बस्तो ।
(७६)
फूल-बारीमा फूल नै छैन –
तै पनि भ्रमरा किन त्यो घुम्छ?
आह! कहिले फेरि आउँछ
अर्को वसन्त र उपवन झुम्छ?
(७७)
मानस मेरो दुर्बल कस्तो?
जानी-जानी भ्रममा पर्छ,
जीवन नै यो एउटा रण हो
तै पनि आहतसँग यो डर्छ !