भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लैजानेछ हामीलाई बतासले / फरोग फारुख्जाद / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो सुक्ष्म रातमा, आहा
मग्न छ बतास
रुखका पातहरूसँगको प्रेमालापमा,
मेरो मिहिन रातमा
कतै गुन्जिरहेछ विध्वंसको पीडा।
सुन,
अँध्यारो बहँदैगरेको सुन्यौ तिमीले?
म नियालिरहेछु एउटा नौलो मान्छेलेझैँ
यो आनन्दलाई।
चुर्लुम्मै डुबिसकेकी छु म त, लत्तोछोड्ने बानीमा।
 
ध्यानदिएर सुन, अँध्यारो आँधीझैँ वहँदै गरेको सुन्यौ तिमीले?
केही कतै गइरहेछ यो रातको बाटो हुँदै।
रातो भएको छ जून व्यग्रताले।
टुक्रिनुको त्रास एकनासले घुमिरहने यस छानामाथि
मलामीजसरी प्रतिक्षा गरिरहेछ बादल,
पानीपर्ने क्षणको।

अब एकै पल हो,
त्यसपछि बाँकी रहने छैन केही पनि।
यस झ्यालको पल्लोपट्टी डरले कामिरहेछ रात
र ठिङ्ग उभिएकोछ बतास।
कुनै अज्ञात अस्तित्वले तिमी र मेरो चियो गरिरहेछ।
 
ए, आपादमष्तक जीवन्त
जाज्वल्यमान स्मृति जसरी
तिम्रा हात मेरा प्रेमले भरिएका हातमा राख।
जीवित रहनुको उष्ण अनुभूतिका साथ
देऊ तिम्रा ओठ मेरा प्रेमील ओठलाई सुम्सुम्याउनका लागि।
हामीलाई बतासले लैजानेछ,
लैजानेछ हामीलाई बतासले।