भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लोदर लाग्यो काका / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म मान्दिनँ काका–
बिरालोले बाटो काट्दा
रित्तो गाग्री देखिँदा
अथवा
कुकुर रुँदा अलच्छिन लाग्छ
या बिग्रन्छ साइत
यस्ता वाहियात कुरा
र पनि आज लोदर लाग्यो।

घाम नझुल्केको हैन समयमै
चराहरूले गाउन बिर्सेका हैनन्
एकाबिहानै पँधेरामा बजेकै हुन् दिदी भाउजूका चुरा पनि
बुढा बाले उसै गरी पूजा गरेर
तानेका हुन् तिलक चन्दनको सिमाना निधारको क्षितिजभरि
धूपबत्ती गरेकै हुन् आमाले पनि छेउमा बसेर सँगसँगै
र पनि लोदर लाग्यो काका !
 
आलस्यलाई शीतल हावाले उडाएको पनि ठिक सत्य हो
ओच्छ्नमाथिको दलिनबाट
गौथलीले हिजै मात्र बचेरा सकुशल उडाएको पनि उत्तिकै सत्य हो
हिजै साँझ भेटेको हो फ्रेस मुडमा–
मन्दिरको पुजारी, मस्जिदको मौलबी
र चर्चको पादरीलाई प्रसन्न मुद्रामा
रै पनि बिहान बिहानै लोदर लाग्यो काका !
 
एकाबिहानै सडक हिँड्दै थियो–
एक हुल पाइतालाहरू काँध हालेर मसानघाटतिर
उदासी चुहिरहेका अनुहार देखेर आत्तिएँ म त काका !
ती एक एक अनुहार–
कि तपाईँका थिए कि मेरा
लोदर लाग्यो काका
साँच्चै लोदर लाग्यो !