वयोवृद्ध कोकिलको वासन्तिक अनुताप / लेखनाथ पौड्याल
उज्यालो त्यै अग्लो हिमचुली छ, त्यै नील गगन
तिनै खोला नाला, रुखहरू तिनै, त्यै छ पवन ॥
म त्यै छु, त्यै प्यारो खगजुनि छ, त्यै चञ्चुपुट यो
कठै ! त्यो आनन्दी मधुर वय मेरो तर गयो ॥
जवानीको चढ्दो अति चहकिलो रङ्ग रसमा
म देख्थें नाचेको सकल वनमा स्वर्ग-सुखमा ॥
थलामा घन्केको कुहँ कुह कुहँ कौतुक थियो
कठै ! त्यो मानन्दी मधुर वय मेरो सब गयो ॥
जुनेली वासन्ती सरस निशिको अन्त्य पहर
जसै देख्थें लाग्थ्यो हृदयबिच संगीत-रहर
चुचो खोल्थें बोल्थे तन मन सबै गद्गद थियो
कठे ! त्यो आनन्दी मधुर वय मेरो अब गयो ॥
पखेटा छन् लाटा, चल गतिको गौरव छुटयो
चनाखा आँखामा किन किन धमीलोपन जुटयो ॥
बलाँतीझै छाती, तन सब जरा-जर्जर भयो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ।
दिशा यो माहेन्द्री, उदयगिरिमा त्यो सुनहरी ।
उषाका उठ्दैछन् अति मदुल आलोक-लहरी ॥
म बोलू भन्दैछु, तर सब गला घर्घर छ यो
कठै ! प्रानन्दीत्यो मधुर चय मेरो सब गयो ॥