भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शिवलिङ्ग अनि बगरका ढुङ्गाहरू / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


शिवधाममा शिवलिङ्गलाई हातले छोएर ढोग गरेँ । चिसो थियो । त्यहाँबाट निस्केपछि सोझै रङ्गीतको ढुङ्गे बगरमा गएर बसेँ । अनेक आकार र अनेक रङ्गका ढुङ्गाहरूमा मेरा आँखाहरू एकोहोरिए । हेर्दाहेर्दै ढुङ्गाहरूका पनि आँखा खुलिए, ओँठ चल्मलाए। अनि यौटा ठूलो चिल्लो ढुङ्गाबाट आवाज आयो : मेरो पनि योग्यता र अधिकार छ शिवलिङ्ग बन्ने । त्यसपछि अर्को ढुङ्गाले, फेरि अर्कोले अनि अर्कोले पनि यस्तै दाबी गर्यो । अनि त बगरमा मसिना ढुङ्गाहरूको कोरस :
बन्नसक्छौँ हामी पनि ससाना शिवलिङ्ग
घर-घरको पूजाकोठामा पुजिने ।

अनि सबैलाई शान्त हुने सङ्केत गर्दै भनेँ : तिमीहरू यसरी बन्धुत्वमा बाँधिएर वर्षौँदेखि बसिआएको ढुङ्गा जाति । शिवधामको शिवलिङ्ग पनि पहिले तिमीहरूकै दाजु या भाइ त हो नि ! शिवलिङ्ग आकृति ओढाएर पुजिन थालिएपछि केही दिन उ गजक्क परिबस्यो । बगर बिर्स्यो । आफैलाई बिर्स्यो । तर उसलाई आफ्नो ढुङ्गा जाति र ढुङ्गा-समाजको न्यानोपनको तिर्सना कति लाग्दो हो नि ! यो तिर्सना उमाथि भक्तहरूले बिहानैपिच्छे चढाउने गङ्गाजल र दूधले मेट्न सक्ला र ? तर यो सत्य उसले भित्रभित्रै लुकाएर देवत्वमा मौन बसिरहन्छ । उ त अब सामान्यताबाट धेरै माथि, कता हो कता माथि उठेर भक्तिरस मात्र पिउने लतमा परिसक्यो ।

तिमीहरूले तर ढुङ्गा हुनुको धर्म नछोड्नू
बगरमा गिट्टी कुट्नेहरू चुपचाप गाउँछन्
तिमीहरूको समर्पणको गीत
बाटो र बिल्डिङका मजदूरहरू कहन्छन्
तिमीहरूकै अकथित कथाहरू
पसिनाले नुहाउनु र आँसुले रुझ्नु के हो
तिमीहरू बुझ्छौ
भाभरको औतार लिई ड्रयागनले जब आगो ओकल्दै आउँछ
बगरमा बाँच्नेहरूको छाला कति डढेको हुन्छ
यसको साक्षी तिमीहरू नै त छौ
हिउँदमा खोलाबाट आउने चिसो स्याँठको कतिवटा दाह्रा हुन्छ
तिमीहरूले नै गन्ती गरेका छौ, होइन त ?

ठीक यतिबेला म बसिराखेको ढुङ्गा हल्लियो र म लड्न खोज्दै ओर्लिएँ । सुनेँ त्यहीँबाट आइरहेको आवाज : अरे! तिमीले हामीलाई साँच्चै ढुङ्गै ठानेको ? ढुङ्गाबालुवासितै हाम्रो जीवन बित्यो त हामी ढुङ्गै भइहाल्यौँ ? तिम्री बोजु पनि यहीं हामीसितै गिट्टी कुट्थिन् । ऐले तिमी ढुङ्गा कुँद्ने शिल्पी भएपछि ढुङ्गासित बस्ने हामीलाई ढुङ्गै देख्नथाल्यौ ? तिमीहरू जस्ता विशिष्ट अनि शक्तिशालीहरूका श्रापले नै हामी ढुङ्गा भइराखेका छौँ ।

हामीलाई भावनाहरूमा अलमल्याइराख्ने कोशिश नगर
रामको पैताला हिंड्दै चेतना आइसक्यो हामीलाई स्पर्श गर्दै
अब हाम्रा औंलाहरू नै कलम भइसके इतिहास लेख्न आफ्नै

स्तब्ध म आफैलाई अब ती जिउँदा ढुङ्गाहरूबीच मिसिँदै गइरहेको देखेँ । अनि मैले आफैले आफूलाई यसो भनिरहेको सुनेँ :
हो, आजसम्म
पुजित र दमनकारीहरूको अनुहार मात्र हेरियो शब्दहरूमा
अब पर.. पर.. पन्साइएकाहरूको कथा ठूलो आवाजमा सुनाउनुछ
नदीको प्रवाहलाई किनाराले डोर्याउनुछ ।