सपनाको तस्वीर / प्रकाश सायमी
झोलामा बोकेर आएका थिए
उनीहरूले आफ्नो आँखाको तस्वीर ।
दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै ।
के के थिए झोलामा
के के हराए झोलाबाट
उनीहरू आफैँ अल्मलिए ।
झोला खोज्दाखोज्दै बितेको रात
एउटा सपना बित्यो
रामविलासको जीवनमा ।
झोला पोको पार्नु अगि रामविलासले
धेरै सपना पोको पारेको थियो
बाटो बाटोमै लुटियो उसको सपना ।
ऊ धेरै पटक यो शहरमा
देव दर्शन गर्न आयो ।
ऊ धेरै पटक सिंहदरवारमा
कैँयौ  सरकार पुर्याउन आयो
आज उसको सपना लुटिँदा
आज उसको झोला खोसिँदा
न उसँग रुने  कुनै सरकार छ
न कसैको सरोकार छ ।
साला सेठले उसलाई लिलाम गरिदियो शहरमा ।
करोडौँ अनुहारका बीच एउटा अमिल्दो
अनुहार लिएर रुँदै गर्दा
उसलाई सम्झाउने अर्को रामविलास
अब यो शहरमा छैन ।
रामविलास भन्छ,
नरो , नरो ।
यो सरकारले आँसु पुछ्न आयो भने
त्यसमा पनि कर लगाउँछ ,
यो साल सेठले  हाम्रो आँसु खोस्यो भने
त्यो पनि  हिराको भाउमा बेच्छ
आँसुको धेरै किनबेच  हुन्छ
यो शहरमा ।
रामविलासलाई हेर्दै
रामविलास आज भन्दैछ,
तिमी रोयौ
तिमी किसान हौ
तिम्रो आँसुमा नून छ
ऊ रोएन
ऊ मसान हो
उसको आँखामा खून छ
...
करोडौँ अनुहारमा आफ्नो  
अनुहार खोज्दै  रामविलास  
झोला बोकेर आएको थियो
यो शहरमा
झोलामा थियो
उसको सपनाको  तस्वीर ...
झोलामै थियो ।
 
	
	

