सरस्वतीसित / हृदयचन्द्रसिँह प्रधान
म कविताको पुजारी कवि हुँ,
तर हे सरस्वती, तिमी कविताकी दायित्री कसरी ?
किनभने कविता त चारैतिर छरिएका पाइरहेको छु,
दुर्गन्ध नास्दै सौन्दर्य दिने फलबाट मैले कविता पाइरहेको छु,
सृष्टिको शुरूदेखि प्राणिमात्रको काम दिँदै आएका खोलाहरूबाट,
मानिसहरूको प्रेरणा जगाउने चराहरूका तानबाट,
अनि
चन्द्र, तारा, गिरि, क्षितिज सबबाट मैले कविता पाइरहेको छु;
मेरा आँखामा उज्यालो दिएर सूर्यले कविताका आत्माहरू देखाइरहेका छन्,
रजनीले अँध्यारो दिएर भित्रका उज्यालो कविता देखाइरहेको छ,
अनि
मजदूरहरूको पसीनाबाट, गरीबहरूका आँसुबाट पनि मैले कविता पाइरहेकोछु;
सबभन्दा अनि -
मेरी प्रियाको प्यार, उसँग बाझदाको हार
र
उसको हृदयको उपहारले मलाई कविता सिकाइरहेका छन् ।
तिमी नै साँच्चैकी कविताकी दायित्री ह्वौ भने
हे सरस्वती, म पनि साँच्चैको कवि बन्न चाहन्छु,
लौ मलाई अझ कविताको प्रेरणा देऊ,
अझ कलाकार बनाऊ।
तिम्रो आशीषविना कवित्वशक्ति जाग्दैन भने
हे सरस्वती, तिम्रो सिवाय म कसैको पनि उपासना गर्न चाहन्नँ
किनभने मलाई मानिसको आँसु मन पर्दैन,
गरीबको सुस्केरा मन पर्दैन,
अनि-
कसैको पनि मलाई पसीना मन पर्दैन ।
त्यसैले हे सरस्वती, मलाई कवि बनाऊ ।
अझ बढ्ता कवि बनाऊ।
अनि मलाई
मानिसहरूको टाउकोको भरमा उठेको महल चाहिँदैन,
फुर्तिलोपनको निम्ति कसैको रगत चाहिंदैन,
केही चाहिंदैन
खालि गुजाराको निम्ति रुखा-सुखा खाना भए पुग्छ ।
हे सरस्वती, कविता लेखेर, कविता लेखाएर
कविता सुनेर, कविता सुनाएर
म संसारलाई सुन्दर पार्छु,
सौन्दर्य र आनन्दको मात्र संसार मा उद्भव गराउँछु ।
.............................
शारदा, १४|११ फाल्गुण २००५