भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साथी पठाएर स्टेसनमा केही क्षण / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बिस्तारै–बिस्तारै
सिन्दुरे पहाड डुब्दै गयो
पर कहीँ
पर अँध्यारोको गहिरो समुद्रमा,

केही क्षणअघि फरफराईरहेका रंगीन पातहरू
प्रेम गर्नेहरूले
कसम आएर राखेका साक्षी – त्यो मन्दिर,
                                    – गुम्बा,
                                    – नदी र वृक्षहरू

सबैलाई अलपत्र छाडेर
भाग्दै गयो त्यो निर्मोही सूर्य,

आँखाका डिलका पहराबाट
झरिरहे आँसुका कठोर चट्टानहरू
र चर्चरी फुटाए
कमजोर मनका ऐनाहरू,
 
एउटा परिचित हिँड्दै गरेको सुगम बाटो
च्यातिएर शोकमग्न वैरागीको मनजस्तो बन्यो
अल्छीहरूको कलब्रेक भएर आएको
समयले पनि एउटा अमूर्त चित्र कोरेर गयो
अनुभूतिका भित्ताहरूमा,
कुनै नाबालक
विधवा अनुहार हो कि हो कि जस्तो,

आफ्नो प्रिय मान्छेले
बिदाइमा खसाएको आँसु
त्यो त तरल आगो हो, आगो
कसरी जलाउँछ सहनै नसक्ने गरेर छाती  !

चुरोटले पोलेको मैलो कमिजजस्तो
जिन्दगीले च्यातेका गीतका टुक्राहरूमा
अर्थहरू खोज्दाखोज्दै
थाकेर टोलाइरहे दृष्टिहरू,

भोलि, झुलुक्क फेरि निस्कनेछ त्यो सूर्य
कुनै लाचार ऋणीछेउको साहु भएर आँगनमा,
त्यसले हाम्रो बैंसका अमूल्य
सुन्दर दिनहरू बलजफ्ती सित्तैमा लैजानेछ

हामी असक्त भएर
टुलुटुलु हेर्नेछौं त्यसलाई
र निस्कनेछौं
कुनै नयाँ सहाराको खोजीमा भौतारिँदै,
 
जहाँजहाँ हामी हिँड्नेछौं
नांगा पाइलाका डोबहरूले लेखिनेछन्अ नि
असंख्य उदास गीतहरू तिर्सनाको तातो मरुभूमिमाथि,
भुमरीजस्तो वर्तमान र गुफाजस्तो अथाह भविष्य
सबै अप्रत्याशित र असह्य लाग्नेछन् तिमीलाई,

तर,
मलाई त उहिल्यै थाह थियो
भेट विछोडको पहिलो सिँढी हुने गर्छ

र आँसुको लाठीको
अन्तिम सहारा टेकेर
समयको नदी तर्दै जान्छ मान्छे !