सिर्जनाको माली बनूँ / विष्णु न्यौपाने
म आफ्नै जराले सकूँ टेक्न धर्ती
नयाँ स्वर्ग आफ्नै सकूँ लेख्न धर्ती ।
गरी कर्म प्यारो सबैकोे छहारी
बनूँ एकताको झरीलो चिनारी ।।
(१)
म नेपाल वासी म हूँ कर्म योगी
म जन्मैं बने हूँ स्वयं बुद्ध बोधी ।
हिमाली कुवाको जलाधार प्यूँदै
म हाँकीरहेको छु ब्रम्हाण्ड सिङ्गै ।।
(२)
कतै उच्च थुम्का कतै दून बेंसी
कतै झुम्म बस्ती कतै सम्म खेती ।
म लेखूँ नयाँ देशको गीत यौटा
खुलाएर आत्मा सबैका अनौठा ।।
(३)
छ नेपाल मेरो मुटूभित्र प्यारो
छ सौन्दर्य आफ्नै नसा भित्र प्यारो ।
नयाँ सिर्जनाको नलेखे कहानी
न खुल्ने छ आस्था न बाँच्ने निसानी ।।
(४)
जहाँ भेष, भाषा छ संस्सकार आफ्नै
त्यहाँ प्राण प्यारो छ सौन्दर्य आफ्नै ।
नफारौं नच्यातौं कलेजा धराको
थुते प्वाँख अस्तित्व के त्यो चराको ।।
(५)
सयौं जाति भाषा सयौं भेष भित्र
सधैं बाँधिएछौं बनी पूज्य मित्र ।
अझै शुद्ध सङ्लो म जोड्ने छु नाता
सबै दुःख बुझ्ने म बन्ने छु भ्राता ।।
(६)
सबै एक बन्ने गला झिक्छु आफैं
मदानी नबन्ने कला सिक्छु आफैं ।
उराल्ने धुराल्ने दुला प्वाल टाली
नयाँ सिर्जनाको बनूँ पूर्ण माली ।।
(७)