स्मृतिपत्र / सविता गौतम दाहाल
आफैले फुलाएका रंगीविरंगी फुलहरु
सोचेका शब्दहरुको माला
अनि बेचेका पलहरुमा
सुटुक्क सजाएको फूलदान
अर्पण गर्न चाहान्छु ।
सागरहरुको भ्रमणमा
केही समय गोताखोर
भित्रभित्र गहिराईसम्म पुगेको थिए
ल्याएको छु मोतीहरु
देखाउन चाहान्छु ।
अपहरणमा परेर
रहेको थिए केही वर्ष दासशालाभित्र
कोरेको छु अनौठो अन्धकार
एकपटक भाग्दाभाग्दै हराएको थिए
मुर्छित भएछु
ल्याएको छु जीवनसंगै आर्शिवादहरु ।
मलाई लाग्दैनकि भेट होला !
दिन सकूंला !
देखाउन सकूंला !
फुलका तस्वीर उतार्दै छु
ओइलाउनु अगिनै
पन्साउदै छु काडाँहरु
कोही प्रियलाई नविझोस सोचेर ।
संमmनाका केस्राले बाटेको चुल्ठो
समयको अनूहारमा कत्ति सुहाएको छ
फक्रेको लालीगुराँस सिउरेर
जुन तन्मयताले सजाइरहेछु म स्मृतिपत्र
मलाई लाग्दैनकि यी संकलित कोमलता
तिम्रो नजरको स्निग्ध जलले सिंचित होलान !
के गरुँ !
मलाई सांचै लाग्दैनकि
व्यूंतेलान यी तिम्रा नयनहरुमा फेरि एकपल्ट ।