भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हामीजस्ताको मन / प्रोल्लास सिन्धुलीय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

घर–व्यवहार
बूढो माग्नेको टाउकोजस्तै फुल्दो छ
‘आऊ न बसौँ एकैछिन
पहिलेको जस्तै मुस्कुराऊँ’
– म बर्बराउँछु
‘लौ न नि
तरकारी त भुसुक्कै डढेछ’
ऊ हड्बडाउँछे – एउटा भाते हड्बडाइ ।

म बस्छु एक्लै,
कोठामा कोही नभएको जस्तोगरी
र, प्रतीक्षा गर्छु
मट्टितेल सिद्धिएको रित्तो स्टोभजस्तो नहुन्जेलसम्म मन ।

‘साँच्ची
हामी सँगै घुम्न नगएको धेरै भयो हगि !’
– ऊ सम्झाउँछे
म चुपचाप छु
मलाई लाग्दैन कि हामीजस्ताले घुम्न पनि पाउँछन्
ऊ मलाई नियाल्छे,
‘जिन्दावाद’ र ‘मूर्दावाद’ नसुन्ने ढुङ्काको देउताजस्तो
गजधम्म बसिरहेको
र आफ्नै चित्त बुझाउनु सजिलो ठान्छे
‘आ, होस् ! छोरी छे, कस्लाई छाड्नु ?’

बजारमा
नपाइने कुरा केही छैन
बरु हामीलाई नचाहिने कुरा धेरै छन्
जस्तो कि राम्रो लुगा, मीठो खाना, सजिलो बासस्थान..... ।

मलाई गर्व छ,
मेरी स्वास्नी अरूजस्ती छैन
मीठो खान रहर गर्दिनँ
राम्रो लगाउने चाह राख्दिनँ
दुई–चार पैसा हातमा पर्यो भने
बजारमा पाइने
सबभन्दा सस्तो तरकारी लिएर आउँछे ऊ
मलाई थाहा छ
चाहेर, नचाहेर
मैले नै सिकाएको हुँ यी सब ।

सँगै छौँ,
एउटै घरमा
एउटै कोठामा
एउटै ओछ्यानमा
उसले मलाई बुझेकी छे
मैले उसलाई बुझेको छु
बुझेर नै
घरी ऊ मलाई नबुझेको जस्तो गर्छे
घरी म उसलाई नबुझेको जस्तो गर्छु
हामी
समय हेरेर एकअर्काप्रति बुझ पचाउँछौँ ।

डँढेलो लागेको भातजस्तो घर–व्यवहार र
थोरै दालमा धेरै ‘मस्र्याङ्दी सलल’ गरेको जस्तो जिन्दगीमा
लालचको कालो मन पुछेर
हिमालजस्तै कठोर तर
स्वच्छ जीवन बाँच्न चाहन्छौँ हामी ।

ऊ मलाई हेर्छे र मन बुझाउँछे
म उसलाई हेर्छु र मन बुझाउँछु
त्यही रित्तो मनले
हामी
एकअर्कालाई माया गर्छौं ।

रित्तो मनले गरेको माया
असाध्यै मीठो हुँदोरहेछ ।