हिउँ / भीष्म उप्रेती
बेलुका ओछ्यानमा
ओभानै सुतेको म
बिहान हुँदा हिउँ नै हिउँले पुरिएको थिएँ ।
आकाश रिसाएको थिएन
बादल सुकिलो थियो रहरजस्तो
तैपनि हिउँ खसेछ राति
र रातभरि नै एकनास खसेछ
घरभित्र, ओछ्यानमा सिरकभित्र
मायाको न्यानोभित्र
निर्लज्ज छिरेछ हिउँ
र शरीर नामको रूखका हाँगा–हाँगामा थुप्रिएछ
एक–एक गर्दै खसालेछ हरिया पातहरू ।
म केवल चिन्ताको नदीले
अलि धेरै छोइएको थिएँ साँझमा
हावाको वेगजस्तै दुःखले
अलि धेरै हिर्काइएको थिएँ साँझमा
म छटपटीका तिखा दाँतहरूले
बेस्सरी टोकिएको थिएँ साँझमा ।
यो ठाउँमा चिन्ता
एकै रातमा जमेर हिउँ बन्दो रहेछ
दुःख र छटपटी
एकै रातमा जमेर हिउँ बन्दो रहेछ
र हिउँले असाध्यै पोल्दो रहेछ ।
बेलुका ओछ्यानमा
ओभानै सुतेको म
बिहान हुँदा हिउँ नै हिउँले पुरिएको थिएँ ।