हुरी / नवराज कार्की
हुरी जसले आतङ्ककारी नाम पाएको छ
हुरी जसले विध्वंसकारी बदनाम कमाएको छ
भन्छन् उसले धेरै घरहरू भत्काएको छ
धूलो उडाएको छ, रूख ढलाएको छ
कहिलेकाहीँ आफ्नै मनभित्र हुरी चल्छ
कहिले कतै मस्तिष्कमै हुरी चल्छ
बाहिर हुरी चल्छ, भित्र हुरी चल्छ
झ्याल थुनिन्छ, ढोका थुनिन्छ
तर लाचार ‘मनुवा’
मन थुन्न नसकेर अलमलिन्छ
बच्नै सक्दैन कोही
जब समयको हुरी चल्छ
रोक्नै सक्दैन कोही
जब समयको हुरी चल्छ
मै हुँ भन्ने पहाडहरू भत्कन्छन्
मै हुँ भन्ने सागरहरू उल्टन्छन्
छाल उठ्छ, आँधी उठ्छ, ज्वार उठ्छ
कैयौँ सपनाका जहाज डुब्छन्
कैयौँ बिपनाका जहाज डुब्छन्
हुरी सागरमा पनि चल्छ
हुरी मैदान र पहाडमा पनि चल्छ
केवल पर्खनु मात्र पर्छ
त्यो गतिमान् हुरी एक दिन अवश्यै चल्छ
त्यो बलवान् हुरी
कहाँ तिमी हामीझैँ
चुपचाप सहेर बस्छ
ऊ चल्छ, निरन्तर चल्छ
कायाकल्प भएरै चल्छ
नित्यनवीन भएरै चल्छ
चल्नु उसको धर्म हो
कसैले चाहे पनि, नचाहे पनि
ऊ हुरी हो
चल्दै रहन्छ